जिल्लाका १० ओटै तहले सामाजिक सुरक्षा भत्ता नदिएको लक्षित वर्गका सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
सरकारले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई दिने सामाजिक सुरक्षा भत्ता दशैँ अघि नै उपलब्ध गराउनु पर्नेमा दशैँपछि पनि नपाएपछि उनीहरू निराश बनेका छन् । चालु आर्थिक वर्षको साउनदेखि उनीहरूले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।
स्थानीय तहका कर्मचारीहरूले तलव भत्ता र दशैँ पेश्की बुझे पनि ज्येष्ठ नागरिक, एकल महिला तथा अपागङ्ता भएका व्यक्तिहरूलाई वितरण गरिएन ।
कर्मचारीको ढिलासुस्ती र लापरवाहीकै कारण समयमै सामाजिक सुरक्षा भत्ता वितरण नभएको ज्येष्ठ नागरिक समाजका सदस्य पशुपतिमणी त्रिपाठीले बताए ।
कपिलवस्तुमा रहेका १० ओटै स्थानीय तहको कमजोरीले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको यस पटकको दशैं खल्लो भएको गुनासो गरेका छन् ।
कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, बुद्धभूमि नगरपालिका, शुद्धोधन गाउँपालिकादेखि नमुना भनिएको बाणगङ्गा नगरपालिकामा समेत सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा लक्षितवर्ग पीडामा परेका हुन् ।
कपिलवस्तु नगरपालिकाले भने रकम माग गरे पनि निकासा नआउँदा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको जनाएको छ ।
सङ्घीय सरकारले बैङ्किङ प्रणालीमार्फत अनलाइन सिस्टममा भत्ता वितरण गर्ने रणनीति बनाएकाले पनि लक्षित वर्गलाई सुविधा दिन असमर्थ भएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले बताए ।
दशैँमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको स्वीकार गर्दै आचार्यले अब तिहारलाई लक्षित गरी जसरी पनि भत्ता वितरण गर्ने बताए ।
सरकारले भत्ता बढाएको सुनेका कपिलवस्तु नगरपालिका–८ का ज्येष्ठ नागरिक सेमइ कोरीले दशैँ धुमधामका साथ मनाउने चाहाना पुरा हुन नसकेको बताए ।
शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद पोख्रेलले गाँउपालिका कार्यालयको खाता सञ्चालन गर्न समय लागेका कारण सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिलाइ भएको बताए ।
दशैँ अगावै सामाजिक सुरक्षा वितरण गर्ने तयारीमा गाउँपालिका रहेको भएपनि विविध कारणले ढिला भएको प्रमुख प्रशासकीय अधिकृत पोखलेरको भनाइ छ