षडानन्द नगरपालिकामा करार सेवामा कार्यरत १ सय १० कर्मचारीले दशैँमा पनि तलब नपाएको आरोप लगाएका छन् ।
साउन महिनादेखिको तलब नपाएपछि ऋण खोजेर घर फर्कनु परेको कर्मचारी मन्दिप राईले बताएका छन् ।
नगरपालिकाले असार २६ गते करार सेवामा कार्यरत कर्मचारीहरुको समायोजन गरिएको तर कर्मचारीहरुको तोकिएको वडा कार्यालय तथा शाखामा गएर काम तथा हाजिर नगरकोले तलब दिन नसकिएको नगर प्रमुख बिरवल राईले बताए ।
कोष तथा लेखा नियन्त्रण कार्यालयबाट तलब निकास भइसकेको लेखाफाँटका कर्मचारी राजेश दाहालले बताए । ‘लेखाफाँटबाट हुनुपर्ने कामहरु सबै भइसके पनि मेयरको स्वीकृति बिना तलब हाल्न नसकिएको उनले बताए ।
साउन र भदौको तलबले दशैँ मनाउने आशामा रहेका कर्मचारीले तलब र दशैँ भत्ता नपाएर रित्तै हात घर फर्कनुपरेको राईले बताए ।
मेयर राईले कर्मचारीहरुको हाजिरीखातामा रातो मसी हालिएकोले तलब रोकिएको बताए । रातो मसी लागेपछि तलब उपलब्ध गराउन नमिल्ने उनको भनाई छ ।
असोज १३ अगावै समायोजन गरिएको स्थानमा कर्मचारीहरु खटिनुपर्ने सूचना टाँसिएपनि कर्मचारीले तोकिएको ठाउँमा नगएको उनको भनाई छ । नगरपालिकाका जनप्रतिनिधि र स्थायी कर्मचारीले भने सेवासुविधा र तलब पाइसकेका छन् ।
नेपालको संविधानको भाग ३ धारा ३४ को उपधारा २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षको हक हुने व्यवस्था छ ।