INSEC Online

📅 २०८३ जेष्ठ २१

समयमा रकम नपठाउँदा लाभग्राहीले समयमा नै सामाजिक सुरक्षा भत्ता पाएनन्

नारायण नगरपालिका कार्यालय र एनएमबी बैङ्कको लापरवाहीका कारण सो नगरपालिका झण्डै ९० प्रतिशत लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

२ हजार ५ सयभन्दा बढी लाभग्राहीमध्ये २ हजार २ सयभन्दा बढी एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्ग र दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता लिनबाट वञ्चित भएका हुन् ।

लाभग्राहीको नाममा नारायण नगरपालिकाले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन दैलेख सदरमुकामको एनएमबी बैङ्कमा खोलिएका खातामा जम्मा गर्न पठाएको रकम ढिला गरी पठाएको कारण लाभग्राहीले सामाजिक सुरक्षा भत्ता लिनबाट वञ्चित भएका हुन् ।

चार छोराछोरीकी एक मात्र संरक्षक एकल महिला नारायण नगरपालिका–८ किमुगाउँकी ७१ वर्षीया जैसरा कामीले सामाजिक सुरक्षा भत्ता नपाएको दुखेसो पोखिन् ।

बैङ्कले भुक्तानी दिन नसक्नुको कारणबारे शाखा प्रवन्धक दुर्गा श्रेष्ठको ध्यानाकर्षण गराउँदा ‘नगरपालिकाले असोज १४ गते मात्र रकम पठाएकाले सबै लाभग्राहीको नाममा पोष्टिङ्ग गर्न डेढ दिन लागेको कारण बिहीबार र शुक्रबार कोशिस गर्दा पनि ३ सय जनालाई मात्र भुक्तानी दिन सकिएको बताइन् ।

नगरपालिकाले बैङ्कमा रकम पठाउनै ढिला गरेको सन्दर्भमा नारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाको प्रतिक्रिया माग्दा कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा पठाउनै ढिला गरेको कारण यो समस्या आएको प्रतिक्रिया दिए ।

दैलेखका सात गाउँपालिका र चार नगरपालिकामध्ये नारायण नगरपालिकाले मात्र बैङ्कबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

नगरपालिका र बैङ्कको ढिलाइका कारण अघिल्लो वर्ष पनि यहाँका एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्ग र दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता समयमा पाएका थिएनन् ।

नगरपालिकाकै पनि वडा नं. १० र ११ अनि अन्य स्थानीय तहले एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्ग र दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता नगदै बाँड्ने गरेका छन् ।

अन्य

भिडियो