खाँडादेवी गाउँपालिकामा एक वर्षदेखि कर्मचारी नहुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्न गएको छ ।
कुल नौ ओटा वडा रहेको सो गाउँपालिकाको वडा नं ७ खाँडादेवीका सचिव पासाङ लामा एक्लैले नौ ओटै वडाको पञ्जिकरणको काम गर्नु परेकोले आफूसहित सर्वसाधारणले सास्ती भोग्नु परेको बताए ।
अन्य कुनै पनि वडामा वडा सचिव नहुँदा हप्तामा चार दिन आफ्नो वडामा काम गर्ने र दुई दिन गाउँपालिकाको कार्यालयमा आएर पञ्जिकरणसम्बन्धी काम गर्ने गरेको सचिव लामाले बताए ।
वडा सचिव नहुँदा पञ्जिकरणको कागज लिन एक हप्ता कुर्नु पर्ने बाध्यता रहेको वडा नं ३ का स्थानीय रामेश्वर केसीले बताए ।
गाउँपालिकामा पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाहमा निकै समस्या भएको र यस विषयमा पटकपटक सम्बन्धित निकायमा जानकारी गराउँदा पनि कर्मचारी नपठाएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।
रामेछापको खाँडादेवी मात्र नभई गोकुलगङ्गा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकामा पनि एक जना मात्र वडा सचिव रहेका छन् । गोकुलगङ्गामा ६ ओटा वडा छन् भने लिखु तामाकोशीमा सात ओटा वडा रहेका छन् ।
जिल्लाका उमाकुण्ड, दोरम्बा र सुनापति गाउँपालिकामा पनि दुईदेखि तीन जना मात्र वडा सचिव रहेका छन् ।
वडा सचिव नहुँदा सर्वसाधारणलाई दिने सेवामा समस्या भएको र यसको लागि लोक सेवा आयोगमा लिखित जानकारी पठाइसकिएकाले सम्भवतः दसैँ पछि कर्मचारीहरू जिल्लामा आउने रामछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले बताइन् ।