जनता आवास कार्यक्रम अन्तर्गत पर्सागढी नगरपालिकामा ७० जना गरिब, दलित, विपन्न, मुस्लिम परिवार पाँच वर्षदेखि घरविहीन भएका छन् ।
०७० चैतदेखि हाल पर्सागढी नपा–१ अन्तर्गतको झबराहा, बढनिहार, माछीटोल, बिरुवागुठी, सोही नपा–४ अन्तर्गतको बर्वाटाँडी, बकनेरवा, छटैली, सोही नपा–५ को झिङ्गना, सोही नपा–६ को चैनपुर, सोही नपा–८ को हरपुर र सोही नपा–९ को बडेर्वा मुसहर टोलका ७० घर परिवार जनता आवास कार्यक्रम अन्तर्गत पीडित छन् । उनीहरूले चौथो किस्ताबापत रकम प्राप्त नगर्दा अहिलेसम्म घरको छानो बनाउन सकेका छैनन् ।
सरकारले जनता आवास कार्यक्रम अन्तर्गत एक परिवारको २ लाख १४ हजार रुपियाँमा घर बनाउन रकम विनियोजन गरेको थियो ।
पहिलो किस्ताबापत ५१ हजार ३ सय, दोस्रो किस्ता ७५ हजार र तेस्रो किस्ता ६४ हजारपछि अहिले चौथो किस्ता बितरण भएको छैन ।
७० जनामध्ये बगनु हजरा, भिखारी, सुरेश हजरा लगायत १८ जनाले ऋण कर्जा गरेर टीनको छानो हालेर बसेका छन् ।
रामचन्द्र पासवानकी पत्नीले पूरा पैसा पाएपछि मात्र घर निर्माण गर्न पतिलाई सुझाव दिएको तर उनले नमानेर हतारमा किस्ताको रकमबाट घर बनाउन सुरू गरेपछि समस्या झेलिरहेको बताइन् ।
जनक पासवानले नयाँ घरमा बस्ने रहरले पुरानो घर तत्काल भत्काएको तर त्यो रहर अहिलेसम्म पूरा हुन नसकेको भन्दै घर भत्काएकोमा पछुतो लागिरहेको बताए । उनले १० जना परिवारका सदस्य एउटै झुपडीमा बस्नुपर्दा समस्या भोग्नुपरेको गुनासो गरे ।
उनीजस्तै भिखारी माझी, सन्तलाल, सुरेश महरा पनि झुपडी बनाएर परिवारसँग बस्दै आएका छन् । ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूको पेशामा पनि सङ्कट आएको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत सो क्षेत्रमा २९ ओटा घर निर्माणको ठेक्का लिएका उपभोक्ता समितिका अध्यक्ष वासुदेव माझीको अवस्था अरूभन्दा झनै विकराल छ ।
उपभोक्ता समितिको अध्यक्ष भएकाले सबैले पहिले समुदायको घर निर्माण गर्न र त्यसपछि मात्र आफ्नो घर निर्माण गर्न दबाब दिएका कारण उनको घरको जग मात्र तयार भएको छ । माझी भन्छन्–“चौथो किस्ता नआएकोले घर निर्माण पूर्ण भएन र समस्या झेल्नुपरेको छ ।”