भोटखोला गाउँपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म वितरण गरेको छैन ।
ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय, एकल महिलाले गत आर्थिक वर्षभित्रै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नपाएको लक्षित वर्गले गुनासो गरेका हुन् ।
‘हरेक वर्ष असार महिनामा सामाजिक सुरक्षा भत्ता पाउँदै आएको थिएँ । यो वर्ष असोजमा समेत भत्ता पाएको छैन ।’–भोटखोला गाउँपालिका–२ चेपुवाका ७२ वर्षीय गान्टुक भोटेले भने ।
बृद्ध भत्ता नपाउँदा घरमा नुन, तेल सहित दैनिक उपभोगका सामान किन्न समस्या भएको उनको गुनासो छ ।
गाउँपालिकाको कमजोरीका कारण २ सय २१ जनाले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।
परिचयपत्रको आधारमा स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएकोमा यो वर्षदेखि बैङ्क खातामार्फत भुक्तानी गर्न खोज्दा ढिलाइ भएको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्वा भोटेले बताए ।
उनले भने–‘समयमा काम गर्न नसक्नु हाम्रो कमजोरी हो । निकासा भइसकेको छ । केही दिनमा नै हामी भुक्तानी गर्छौँ ।’
अध्यक्ष तेम्बा भोटेका अनुसार पञ्जिकरणको अधिकार प्राप्त गरेका एक जना मात्रै सचिव छन् । उनले भने–‘हामीसँग पर्याप्त जनशक्ति छैन । एक जना मात्रै वडा सचिव छन् । उनले सबै घरघरमा पुगेर भत्ता वितरण गर्न सक्दैनन् । प्रकृया मिलाउँदामिलाउँदै ढिलाई भयो ।’
गत माघ महिनामा बैङ्क खाता खोलेकाहरूले समेत अहिलेसम्म रकम नपाएको ७१ वर्षीय फुदोर्ची शेर्पाले बताए ।
उनले भने–‘हामीले असारमै पाउनुपर्ने भत्ता अहिलेसम्म नपाउँदा अन्यायमा परेका छौँ । हाम्रो कुरा कसले सुन्ने ?’
कोष तथा लेखा नियन्त्रण कार्यालय सङ्खुवासभाका कोष तथा लेखा नियन्त्रक प्रकाश भट्टराईका अनुसार गत आर्थिक वर्षमै सबै स्थानीय तहको सामाजिक सुरक्षा भत्ता निकासा भइसकेको बताए । भोटखोला गाउँपालिकाले ग्लोवल आइएमई बैङ्कलाई सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी दिएको छ ।
गाउँपालिकामा ग्लोवल आइएमई बैङ्कको शाखा स्थापना गर्न ढिलाई भएका कारणले पनि भत्ता वितरणमा समस्या आएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।