INSEC Online

📅 २०८३ जेष्ठ २१

कार्यरत चिकित्सक समायोजन हुँदा अस्पताल चिकित्सकविहीन, सेवाग्राही मर्कामा

१५ जना चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा पुग्ने अधिकांश स्वास्थ्य सेवाग्राही महिना दिनयता स्वास्थ्य लाभ नलिई फर्कन बाध्य भएका छन् ।

भएको दरबन्दीमा क्रियाशील पाँच जना चिकित्सक र आकस्मिक सेवाका चार जना चिकित्सक कर्मचारी समायोजनमा कोही स्थानीय र कोही सङ्घमा समायोजन भएपछि अस्पताल यतिबेला चिकित्सकविहीन भएको छ ।

अस्पतालमा कार्यरत विशेषज्ञ सेवासहितका चिकित्सक समायोजनमा परेर तोकिएको ठाउँमा गएपछि स्वास्थ्य सेवा लिन अस्पताल पुग्ने बिरामी मर्कामा परेका छन् ।

अस्पताल प्रमुखका रूपमा रहेका स्त्रीरोग विशेषज्ञ डक्टर पवनजङ्ग रायमाझीले आफूसहित जिल्ला अस्पतालमा कार्यरत पाँच जना डाक्टरहरू समायोजनामा परेर कहाँ रहने भन्ने टुङ्गो नभएको बताए ।

‘मेरो त सरूवाको पत्र आइसकेको छ । काठमाडौँ जाँदैछु ।’–उनले भने–‘केही दिनका लागि मात्र हामीले सेवा दिइरहेका छौँ ।’

असिस्टेण्ट हेल्थ वर्करसहित अस्पतालको आकस्मिक सेवाका चार जना स्वास्थ्यकर्मी समायोजनमा सङ्घमै परेका छन् । आकस्मिक सेवाकै दुई स्वास्थ्यकर्मी फाजिलमा परेको अस्पतालमा प्रमुख डाक्टर रायमाझीले बताए ।

५० शैयामा स्तरवृद्घिपछि १५ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा डाक्टरहरू नहुँदा प्रसूतिबाहेक ठूलो शल्यक्रियासमेत हुन नसकेको प्रमुख डक्टर रायमाझीले बताए ।

विषेशज्ञ डक्टर नहुँदा र कार्यरत डक्टर पनि समायोजनामा परेर जाँदा दैनिक आउने २ सय बिरामी प्रत्यक्ष प्रभावित भएका छन् ।

‘ठूलो अस्पताल भनेर आयो । स्वास्थ्य बीमाको उपचार गर्न पनि यतै आउनु पर्छ ।’–सेवा लिन आएका इलाम नगरपालिका–१ साँखेजुङका ५३ वर्षीय सोमबहादुर राईले भने–‘अस्पताल आउँदा सिक्नका लागि आएका विद्यार्थीले उपचार गर्छन् । कसरी विश्वास गर्ने र सेवा लिने ?’

नेपालको संविधान, ०७२ ले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ ।

सोही धाराको उपधारा १, मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ ।

अन्य

भिडियो