INSEC Online

📅 २०८३ जेष्ठ २१

चिकित्सकले सुई लगाउन नमान्दा गर्भवतिलाई जिल्ला बाहिर रेफर

सुत्केरीको शल्यक्रिया गर्ने तयारी हुँदा श्राद्धका कारण चिकित्सकले सुई लगाउन नमान्दा जिल्ला अस्पताल बैतडीमा भर्ना भएकी एक गर्भवति महिलालाई जिल्ला बाहिर रेफर गरिएको छ ।

सुत्केरी व्यथा लागेर असोज १ गते जिल्ला अस्पताल बैतडीमा भर्ना भएकी दशरथचन्द नगरपालिका–४ की २५ वर्षीया कलावती जोशीको चिकित्सकले सुई लगाउन नमान्दा शल्यक्रिया हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको जिल्ला अस्पताल बैतडीका डाक्टर देवेन्द्र लेखकले बताए ।

डाक्टर लेखकले भने–‘सुत्केरी कलावती जोशी असोज १ गते भर्ना हुनु भएको हो । उहाँ आफै सुत्केरी हुने अवस्था नभएपछि असोज ३ गते शल्यक्रियाको तयारी थियो । शल्यक्रियाअघि सुई लगाउने एनेस्थेसिया चिकित्सक खेमराज भट्टले असोज ४ गते घरमा बुबाको श्राद्ध परेकोले सुत्केरीलाई सुई लगाउन सक्दिन भन्नुभयो । धेरै कर गर्ने कुरा पनि भएन । त्यसपछि उनलाई डडेल्धुरा रेफर गरेका हौँ ।’

रेफर गरिएकी सुत्केरीले एम्बुलेन्स समेत नपाउँदा निजी जिप महङ्गो शुल्कमा भाडामा खोज्नु परेको सुत्केरीका आफन्त नारायण जोशीले बताए ।

जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स बिग्रेकाले मर्मत भइरहेको जिल्ला अस्पताल बैतडीका डक्टर देवन्द्र लेखकले बताए ।

यो विषयमा जिल्ला अस्पताल बैतडीका एनेस्थेशिया खेमराज भट्टले भने–‘सुत्केरी नछुने मान्यता होइन । असोज ४ गते घरमा बुबाको श्राद्ध परेकोले घर जानु पर्ने हुँदा सुई नलगाएको हो ।’

भट्टले भने–‘बिरामीलाई सुई लगाएर घर जान मिलेन । कुनै समस्या परे अस्पतालमै बस्नु पर्ने भएकाले सुई नलगाएको हुँ । सुत्केरी नछुने मान्यता होइन । मैले तुरुन्तै घर जानु परेकोले डाक्टरले बिरामीलाई रेफर गरेका हुन् ।’

रेफरको भएको विषयमा बैतडीका प्रमुख जिल्ला अधिकारीले गम्भीर चासो लिएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने–‘स्वास्थ्यकर्मीको घरमा बुबाको श्राद्ध परेकाले सुई नलगाएको विषयम मैले गम्भीर चासो लिएर बुझ्दा डाक्टर र ऐनेस्थेशियाबिच केही मनमुटाव पनि रहेछ । जुनसुकै कारणले पनि एउटा सुत्केरीले जिल्लामै पाउने सेवा नपाएको विषयमा आवश्यक जाँचबुझ गर्छु ।’

समाजमा भएका यस्ता गलत मान्यता र प्रथा अन्त्य गर्न सबै जागरुक बन्नु पर्ने प्रजिअ पौडेलले बताए ।

चिकित्सकले घरमा श्राद्ध परेको भन्दै सुत्केरीलाई सुई नलगाउँदा जिल्लामा पाउने सेवा नपाएकाले जिल्ला बाहिर जानुपर्दा हजारौँ रुपियाँ खर्च भएको र अनावश्यक दुःख व्यहोर्नु परेको बिरामीका आफन्तले बताएका छन् ।

०७६ भदौ २९ गते मात्रै बैतडीको शिवनाथ गाउँपालिका–१ गाउँसल्लामा सुत्केरी व्यथा लागेकी २१ वर्षीया गौमती चाँडको १२ घण्टासम्म लगातार रगत बग्दा समेत कतै नलगिँदा मृत्यु भएको थियो ।

अन्य

भिडियो