वर्षासँगै आएको बाढी र पहिरोका कारण बेलका नगरपालिका आसपासका क्षेत्रका ३७ घरपरिवार विस्थापित भएका छन् ।
भदौ ३० गते भएको भारी वर्षासँगै पहिरो जाँदा बेलका नपा–६ स्थित घारे र तित्रीबोटका १० घर राई र बोटे परिवार विस्थापित भएका हुन् ।
त्यसैगरी वडानं ३ को गिदेरी खोला गाउँमा पस्दा सातपत्रे र निसानटोलका २१ घर डुबानमा परेको सो नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।
वडा नम्बर ४ को सिसुवाखोलाले खोर्सानेझोर गाँउको सुरक्षाका लागि लगाएको बाँध भत्काउँदा ६ घर विस्थापित भएको मेयर थापाले जानकारी दिए ।
पहिरो र नदीको उच्च जोखिममा रहेका परिवार छिमेकीको शरणमा पुगेका छन् । उनीहरूलाई सशस्त्र र नेपाल प्रहरीले उद्धार गरेको मेयर थापाले बताए ।
पहिरोले तित्रीबोटका चुर्नलाल राईको घर पुरेको छ भने जयलाल राईको आधा घर भत्काएको छ । पहिरोले मानबहादुर माझीको ३ विगाहा खेतीयोग्य जमीन पुरेको छ भने माईक्रो हाईड्रो पावर पूर्ण रूपले क्षतिग्रस्त भएको छ ।
लगातारको वर्षाले स्थानीयका खेतीयोग्य जमिन बगरमा परिणत गर्नुका साथै सिंचाई कुलो, बोरिङ्ग र खानेपानीमा क्षति पुगेको जनाइएको छ ।
सिसुवा खोलामा आएको बाढीले स्थानीयको २५ बिगाहा धानखेत पुरेको छ भने कटारी आसपासका क्षेत्रमा कटान गरेको वडाध्यक्ष दिपक दङ्गालले जानकारी दिए ।
स्थानीय नदी तथा खहरेले वडानं ९ धौरी, वडानं १ को आम्बासी, २ को धार र प्रथा खोलाले पारुहाङ्ग क्षेत्रका धानखेतीमा क्षति पुर्याएको छ ।
त्यसैगरी वडानं ८ को बोप्ताङ्ग खानेपानी योजना, ७ र ८ पर्ने कोठुफेरी–बाग्दा, सोमबारे–मायुङ्ग्टार, लालबजार–बबला–घारे सडकमा क्षति पुगेको छ मेयर थापाले बताए ।
सडक भत्किएसँगै आबागवन बन्द भएको छ । पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रका सडकमा ठाउँठाउँमा नदीले कटान गरेपछि सडक अवरूद्ध भएको हो ।
पहिरोले वडानं ५ स्थित आधारभुत विद्यालय पोखरेलाई क्षति पुर्याएको छ । लगातारको भेलबाढीले उदयपुरको बेलका र सुनसरीको बरहाक्षेत्र नगरपालिकाको सिमानाबाट बग्ने सप्तकोसी नदीले स्थानीयको जमीन कटान गरेको मेयर थापाले जानकारी दिए ।
बाढी घरमा पसेपछि स्थानीय ज्यान जोगाउँदै बाहिरिएका थिए । घार खोलामा आएको बाढी गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा केही पनि निकाल्न नपाएको मानबहादुर माझीले बताए । उनले भने–‘रित्तो हात निस्कनु पर्यो । भएको खेत पनि बगायो । पाँच ओटा सुँगुर, एउटा गोरो पनि बगायो ।’
त्यसैगरी चौदण्डीगढी नगरपालिका–३ को कालीखोलामा आएको बाढीले को १ च ६४२० नम्बरको मारुती भ्यान बगाएको छ ।
स्थानीयले भ्यानमा रहेका तीन जनालाई सकुशल उद्धार गरेका छन् भने भ्यानसमेत निकालेको प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काले बताए ।
सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–३ का रमानन्द साहले सञ्चालन गरेको किराना पसलमा भेलबाढी पस्दा ६ लाख रुपियाँ बराबरको क्षति पुगेको उनले बताए । बाढीले बिजुलीका पोलहरूसमेत बगाएको छ ।







