सामाजिक सुरक्षा भत्ता समयमा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । भेरीमालिका नपा-४ का ७२ वर्षीय बेदबहादुर शाही सामाजिक सुरक्षा भत्ता लिन पटकपटक नगरपालिका धाउँदापनि नपाएको गुनासो गरेका हुन ।

चार महिनादेखि ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता नपाउँदा दैनिक जीवनयापनमा समस्या परेको बेदबहादुरले गुनासो गरे । ‘भत्ता आयो कि भनेर धेरै पटक नगरपालिका धाएँ । तर, कर्मचारीले माथिबाटै भत्ता नआएको भनेपछि खालि हात फर्कनु पर्यो ।’-उनले गुनासो पोखे ।
शाही जस्तै पुन्माकी ७६ वर्षीया ओमकुमारी खत्रीको पनि उस्तै गुनासो रहेको छ । नगरपालिकामा सामाजिक सुरक्षा भत्ताका लागि पटकपटक जाँदा पनि नपाएको उनले बताइन् ।
उनीहरू जस्तै भेरीमालिका नगरपालिका भित्रका ३ हजार १ सय ३८ जना ज्येष्ठ नागरिक, एकल महिला, आपाङ्गता भएका व्यक्ति र दलित बालबालिका सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुँदा उनीहरू आर्थिक समस्यामा परेका छन् ।
साविकको खलङ्गा, पुन्मा, जगतीपुर र भुर गाविसलाई मिलाएर एक वर्षअघि घोषणा गरिएको भेरीमालिका नगरपालिकामा यस आर्थिक वर्षको पहिलो चौमासिकमा अन्य ज्येष्ठ नागरिक ८ सय ३६ जना, दलित ज्येष्ठ नागरिक ३ सय ८७ जना, एकल विधुवा महिला ६ सय १२ जना, पूर्ण अपाङ्गता भएका ६४ जना, आंशिक अपाङ्गता भएका २५ जना र दलित बालबालिका १ हजार २ सय १४ जनासमेत गरी ३ हजार १ सय ३८ जनाले असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने भएपनि कात्तिक महिना सकिँदासमेत नपाएपछि उनीहरूले गुनासो गरेका हुन् ।

सरकारले अन्य ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल विद्युवा महिला, पूर्ण अपाङ्गता भएकालाई यसै आर्थिक वर्षदेखि १ हजार रुपियाँ दिने घोषणा गरेको थियो । यसैगरी आंशिक अपाङ्गता भएकालाई प्रति महिना ६ सय रुपियाँ र दलित बालबालिकालाई ४ सय रुपियाँ दिने घोषणा गरेको सरकारले पहिलो चौमासिकमा सामाजिक सुरक्षा भत्ता कसैलाई पनि वितरण गर्न नसकिएको नगरपालिकाका सामाजिक सुरक्षा शाखाका केदारबहादुर कार्कीले बताए ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रिय पञ्जीकरण विभागले गत भदौ ८ गते सम्पूर्ण जिल्ला विकास समिति तथा नगरपालिकालाई सामाजिक सुरक्षा प्राप्त गर्ने व्यक्तिहरूको विवरण मन्त्रालयको वेभसाईटमा डाटा इन्ट्री गरी निकासा मागका लागि परिपत्र गरेको भएपनि नगरपालिकाले सामाजिक सुरक्षा प्राप्त गर्ने व्यक्तिहरूको विवरण हालसम्म मन्त्रालयको वेभसाईटमा डाटा इन्ट्री गर्न सकेको छैन ।
स्थानीय विकास मन्त्रालयले स्थानीय निकायलाई गत भदौ महिनामा निकासा मागका लागि परिपत्र गर्दै अवदेखि सामाजिक सुरक्षा भत्ता पाउनेको नाम कम्प्यूटरमा इन्ट्री गरी वेभसाईटमा राख्न निर्देशन गरेको जिल्ला विकास समितिका सामाजिक विकास शाखाका खरिदार उदय थापाले बताए ।

थापाले भने-‘नगरपालिकासँगै जिल्लाका २६ ओटा गाविसलाई समयमा तथ्याङ्क इन्ट्री गरेर निकासा माग गर्न भनेका थियौँ । सबै गाविसले रकम निकासा गरेर सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिसकेका छन् । नगरपालिकाले गरेको ढिलासुस्तीका कारण हालसम्म रकम निकासा हुन सकेन ।’
नगरपालिकाको बेवास्ता र लापरवाहीले नगरपालिका भित्रका ३ हजार १ सय ३८ जनाले सामाजिक सुरक्षाको भत्ता पाउनबाट वञ्चित भएको नागरिक समाज जाजरकोटका अध्यक्ष केशवजङ्ग शाहले आरोप लगाए । उनले भने-‘अव राज्यबाट पाउने सेवाबाट वञ्चित नगरपालिका भित्रका ३ हजार भन्दा बढी नागरिकको जिम्मा कसले लिने ?’
नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले भर्खर नगरपालिका घोषणा भएको हुँदा धेरै व्यवस्थित हुन नसकेको र त्यसै अन्तर्गत यो विषय पनि व्यवस्थित गराउन नसकिएको बताए । उनले भने-‘नगरपालिकामा रहेका १३ वडाका लागि १३ जना सचिव हुनुपर्नेमा हाल एक जनाबाट मात्र काम गगरेका छौँ । सचिवसँगै अन्य जनशक्तिको समेत अभाव रहेकाले समयमा काम गर्न नसकिएको हो । अवको केही दिनमा समस्या समाधान गर्छौँ ।’