INSEC Online

📅 २०८३ जेष्ठ २१

समान कामको असमान ज्याला !

संविधानले नै महिला र पुरुषबिच कुनै भेदभाव गरिने छैन, समान कामको समान ज्याला पाउने हक हुनेछ भनी समानताको विषयलाई सुनिश्चित गरेको छ ।

तर, स्याङजामा भने अहिले पनि महिला र पुरुषले पाउने ज्यालाको दुरी बढ्दो छ । बिहानदेखि साँझसम्म सँगै काम गरेका पुरुषले दैनिक ज्याला १ हजार रुपियाँदेखि १ हजार २ सय रुपियाँसम्म पाउँछन् भने महिलाले भने ६ सय रुपियाँ मात्रै पाउँछन् ।

वालिङमा घर निर्माण कार्यमा मजदुरको रूपमा काम गर्दै आएकी वालिङ नगरपालिका–१० की राम प्यारीले भनिन्–‘दिनभर काम गरेको ६ सय रुपियाँ दिन्छन् । हामीसँगै काम गर्ने पुरुषले त १ हजार रुपियाँ देखि १ हजार २ सय रुपियाँसम्म पाउँछन् ।’

चापाकोट नगरपालिकाकी फुलमाया राजवंशीले पनि पुरुष सँगसँगै काम गरे पनि ज्याला भने फरकफरक हुने गरेको बताइन् । यो समस्या यी दुई जना महिलाको मात्रै नभएर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने महिलाहरूको हो ।

निर्माण क्षेत्रमा काम गर्ने महिलाले मात्रै नभएर कृषिको क्षेत्रमा काम गर्ने महिलाहरुले समेत पुरुषले सरह ज्याला नपाएको बताए ।

वालिङ नगरपालिका १२ की माया बिकले भनिन्–‘गाउँघरमा खेतीपाति लगाउने क्रममा मेलापातमा पुरुषसँगै काम गरिन्छ तर पुरुषले त्यही कामको ५ सय रुपियाँ पाउँछन् भने महिलालाई ३ सय रुपियाँ मात्रै दिइन्छ ।’

अन्य

भिडियो