INSEC Online

📅 २०८३ जेष्ठ २१

सडक मर्मत नहुँदा बिरामीलाई सास्ती

साउन ३२ गतेको वर्षातका कारण आएको बाढीपहिरोले सदरमुकाम गमगढी जोड्ने छाँयानाथ रारा नगरपालिकाका ग्रामीण सडकलाई क्षति बनाउँदा नगरपालिकाले एक महिना बितिसक्दा पनि क्षति भएका सडक मर्मत नगर्दा सबैभन्दा बढी बिरामीहरूले सास्ती खेप्नु परेको छ ।

साउन ३२ गतेको वर्षातका कारण आएको बाढीपहिरोले छाँयानाथ रारा नगरपालिकाको सदरमुकाम गमगढी जोड्ने ग्रामीण सडक र काठेपुललाई क्षति बनाएको थियो ।

बाढी पहिरोले क्षति भएका सडक तथा काठे पुल एक महिना बितिसक्दा समेत नगरपालिकाले मर्मतसम्भार नगर्दा सबैभन्दा बढी बिरामि र उनका परिवारले सास्ति खेप्नु परेको हो ।

बाढी पहिरोले सदरमुकाम जोड्ने गमगढी-बालै र लुम्स-गमगढी सडक खण्ड तथा काठेपुल क्षति गरेको थियो ।

यो सडक क्षति हुँदा सबैभन्दा बढी बिरामीहरूले सास्ती खेप्नु परेको छ । नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको तीन महिना भयो ।

बिरामीलाई सेवा दिन सञ्चालन गरेको एम्बुलेन्स अहिले नगरपालिका भित्रका टोप्ला, ताल्चा, तुमा, चैना, भामबाडा, छत्तेलबाडा, निगाले र फुलिका बस्तीसम्ममात्र पुग्छ ।

बाढीपहिरोले क्षति बनाएका सडक नगरपालिकाले अहिलेसम्म मर्मत नगर्दा नगरपालिकाका अन्य बस्तीका बिरामीहरूले एम्बुलेन्स सेवा पाउन नसकेको स्थानीयले बताएका छन् ।

छाँयानाथ रारा नगरपालिका-११ की २८ वर्षीया सगुना सार्की असोज २० गते आफ्नो घरमा लडेर घाइते भइन् ।

घाइते सार्कीलाई उपचार गर्न जिल्ला अस्पताल ल्याउन घरपरिवारले आठ जना युवा जुटाएर स्टेचरमा बोकाएर ल्याए ।

बाढीपहिरोले सडक र काठेपुल क्षति बनाउँदा ति युवाहरूलाई जिल्ला अस्पताल पुर्‍याउन तीन घण्टासम्म हम्मेहम्मे पर्‍यो ।

तत्काल सडक र काठेपुल मर्मत भएको भए घरपरिवार र युवाहरूले दुख पाउने थिएनन् गाँउमै एम्बुलेन्स नपुगेपनि आधा घण्टाको बाटोमा एम्बुलेन्स पुगेर पग्छ ।

नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको भएपनि सडक मर्मत सम्भार नहुँदा बिरामी र बिरामीका आफन्तले सास्ती खेप्नु परेको सगुनाका भाइ जनक सार्कीले गुनासो पोखे ।

छाँयानाथ रारा नगरपालिका-१२ का ५५ वर्षीय गगन बुढालाई ज्वरोले थला परेपछि घरपरिवार र आफन्तले गाँउबाट सोही नगरपालिका-१ बसपार्क निर्माण हुने स्थानसम्म बोकेर ल्याए ।

उक्त स्थानबाट गमगढी बजार पाँच किलोमिटर पनि टाढा छैन त्यहाँबाट भाडाको गाडीले २ हजार रुपियाँ लग्यो सडक मर्मत भएको भए एम्बुलेन्समा २ हजार रुपियाँ तिर्नु नपर्ने उनका आफन्तले बताए ।

एम्बुलेन्स सेवा सञ्चालन भएयता नगरपालिकाले आफ्नो क्षेत्र भित्र ३ सय देखि २ हजार रुपियाँसम्म र अन्य गाँउपालिकाको सिमासम्म पुगे ३ हजार रुपियाँसम्म भाडा निर्धारण गर्दा बिरामीका परिवारलाई सहज भएको थियो ।

साउन ३२ गतेको वर्षातका कारण बाढीपहिरोले सडकखण्ड क्षति बनाउँदा अहिले नगरपालिका क्षेत्र भित्रका केही बस्तीले एम्बुलेन्स सेवा पाउन नसकेको हो ।

सबैभन्दा बढी क्षति भएका गमगढी-बालै सडकखण्ड ठेकेदारमार्फत मर्मत गर्न लागेको भएपनि वर्षातका कारण उक्त सडकखण्ड मर्मत गर्न अवरोध भएको र अन्य सडकखण्ड पनि वर्षात रोकिएपछि मर्मत हुने छाँयानाथ रारा नगरपालिकाका मेयर हरिजङ्ग शाहीले जानकारी दिए ।

अन्य

भिडियो