बडिमालिका नगरपालिका–८ मा भदौ २८ गते लागेको अनन्ते मेला सुरक्षको लागि खटिएका प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैङ्कमा कार्यरत अमृत बोहरा, केशव गिरी सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी हरिशङ्कर जोशी, बडिमालिका नगरपालिका–८ का गोरख थापा र सोही वडाकी ध्वनी थापालाई गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरी होहल्ला गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा आरोपितहरूले कार्यस्थलमा रहेका प्रहरीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख इन्स्पेक्टर जनक ढुङ्गानाले जनकारी दिए ।
आरोपितहरूले हातपात गर्दा घाइते भएका असई मानबहादुर चन्दको गालाको दाहिने भागको अनुहारको हड्डी चर्केकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएकाले जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।