नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारी सल्यानले दार्मा र कुमाख गाउँपालिकाका विभिन्न वडा कार्यालयहरूमा भित्ते लेखन गरेको छ ।
‘विप्लव दाइ जिन्दावाद, भ्रष्ट जनप्रतिनिधि मुर्दावाद’ भन्दै भित्ते लेखन गरेको वडा कार्यालयले जनाएको छ ।
दार्मा गाउँपालिका–१ को वडा कार्यलय र सोही ठाउँमा रहेको स्वास्थयचौकी, कुमाख गाउँपालिका–६ को वडा कार्यालय र सोही ठाउँमा रहेको स्वास्थ्यचौकी, दुई ओटा विद्यालय र बजार क्षेत्रमा भित्ते लेखन गरिएको स्थानीयले बताएका छन् ।
भदौ २६ र २७ गते राति वडा कार्यालयहरुमा रातो अक्षरले नारा लेखिएको स्थानीयले बताएका छन् । कुमाख गाउँपालिका–६ का वडाध्यक्ष बिरबल शर्माले वडा कार्यालयको भित्तामा पनि रातो अक्षरमा नाराहरू लेखिएको बताए ।
वडा कार्यालयको भित्तामा ‘संसदीय सत्ता खारेज गर, विप्लव दाइ जिन्दावाद, अवैध खोलिएका शैक्षिक संस्था खारेज गर, भ्रष्ट दलाल जनप्रतिनिधि मुर्दावाद लेखिएको छ ।’
वडाहरूमा भित्ते लेखनको जिम्मा विप्लव निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी सल्यानले लिएको छ ।
अहिले देशमा दलाल माफियाको हातमा शैक्षिक संस्था छ, त्यसलाइ खारेज गरी वैज्ञानिक शिक्षा लागु गर्न दबाब स्वरुप यो अभियान थालेको अखिल क्रान्तीकारी सल्यानको तदर्थ समिति संयोजक कुशलले बताए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले यस विषयमा आफूलाई अहिलेसम्म कुनै जानकारी नआएको बताएका छन् ।
