नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता उच्च अदालत पोखराको आदेशमा भदौ २७ गते रिहा भए लगतै प्रहरीले गोकुल पराजुली, सागर अर्याल र गोविन्द ओलीलाई पुनः गिरफ्तार गरेको छ ।
प्रहरीले उनीहरूलाई जिल्ला अदालतको गेटबाट बाहिरिए लगत्तै गिरफ्तार गरेको हो । उनीहरूलाई प्रहरीले फागुन १० गते राति वालिङ नगरपालिका १२ मा रहेको एनसेलको टावरमा आक्रमण गरेको र फागुन ३० गने पुतलीबजार नगरपालिका–४ भालु पहाडमा नक्कली बम राखेर जनमानसमा आतङ्क फैलाएको आरोपामा गिरफ्तार गरेको थियो ।
गिरफ्तारीमा परेका उनीहरूलाई अदालतले जनही ४ लाख २० हजार रुपियाँका दरले धरौटी माग गरेपनि धरौटी बुझाउन नसकी थुनामा रहेका उनीहरूलाई उच्च अदालत पोखराले भदौ २६ गते साधारण तारेखमा छोड्न आदेश दिएको पत्र भदौ २७ गते जिल्ला अदालत स्याङ्जालाई प्राप्त भएको र उच्च अदालतको आदेश अनुसार जिल्ला अदालतले मिसिरा नेपाली, गोकुल पुराजुली, सागर अर्याल र गोविन्द ओलीलाई रिहा गरेको जिल्ला अदालत स्याङ्जाका श्रेष्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।
वालिङ नगरपालिका–२ छाप्राककी मिसिरा नेपालीलाई छाडिएको र अन्य तीन जनालाई पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।