नेपालको संविधानले गुणस्तरीय शिक्षाको सुनिश्चितता गरेको अवस्थामा डिलाशैनी गाउँपालिका–३ सेलीको सेला अधारभुत विद्यालयको चुहिने छानोका कारण बालबालिकाहरू पठनपाठनबाट वञ्चित हुँदै आएका छन् ।
जीर्ण भवनको छानो मर्मत गर्न नसकेका कारण पानी पर्दा चुहिने भएकाले पठनपाठन बन्द गर्नु पर्ने बाध्यता रहेको प्रधानाध्यापक बिरबहादुर धामीले बताए ।
उनले भने–‘पानी पर्दा जताततै चुहिन्छ कसरी पढाउने ? कक्षा तीनसम्मको पढाई हुने यस विद्यालयमा ४० जना बालबालिका अध्ययनरत छन् । वर्षातको समयमा विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको छ ।’
विद्यालयमा फर्निचर अभाव हुँदा विद्यार्थीलाई भुइँमै पढाउनु पर्ने अर्को बाध्यता रहेको प्रधानध्यापक धामीले बताए ।
२०६४ सालमा घुम्ति विद्यालयका रूपमा स्थापना भएको उक्त विद्यालयले २०६७ सालबाट कक्षा तीन सम्मको पढाइ सुरू गरेको थियो ।
सोही समयमा बनेको एउटा पुरानो छाप्रो छ । स्लेटले छाएको छानो पानी पर्नासाथ ठाउँठाउँमा चुहिने समस्या रहेको अभिभावक ईश्वर बोहराले बताए ।
विद्यालयको छानो मर्मतका लागि वडा र गाउँपालिकासँग आग्रह गर्दा समेत कुनै पहल नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयसिंह बोहराले गुनासो गरे ।
दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा रहेको केदार आधारभुत विद्यालयमा पनि फर्निचर नहुँदा विद्यार्थीलाई बाहिर भुइँमै राखेर पढाउनु पर्ने बाध्यता छ ।
५ सय ३५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा पर्याप्त फर्निचर नहुँदा विद्यार्थीहरूलाई भुइँमै राखेर पढाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक विसनसिंह भण्डारीले बताए । उनले भने–‘फर्निचर छैनन् । माग पनि थुप्रै पटक गरियो तर कुनै पहल भएन् ।’
यस वर्ष निर्माण भएको दुई कोठे भवन बाहेक सबै भवन जीर्ण अवस्थामा रहेको र वर्षातको समयमा पानी चुहिने भएकाले पठनपाठन प्रभावित हुँदै आएको स्थानीय चन्ददेव जोशीले दुखेसो पोखे ।
जोशीले भने–‘गुणस्तरीय शिक्षा दिन्छौँ भन्छन् । तर, पानी पर्दा छाना चुहिएर विद्यार्थीलाई कापी किताबै बचाउन मुस्किल छ ।’
विद्यालयको समस्यालाई मध्यनजर गर्दै आगामी शैक्षिक सत्र सम्ममा भवनका लागि पहल गर्ने वडा अध्यक्ष हरिश जोशीले बताए ।
शिवनाथ गाउँपालिका–२ शर्मालीमा रहेको नागार्जुन माध्यमिक विद्यालयको समस्या पनि उस्तै छ । कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा ८ सय भन्दा बढी विद्यार्थी छन् । तर, फर्निचर अभावमा पढाइ प्रभावित भइरहेको प्रधानाध्यापक माहमलसिंह साउदले बताए ।
उनले भने–‘फर्निचर अभावमा एउटै बेञ्चमा ६–७ जनालाई कोचेर राख्नु पर्ने बाध्यता छ । गर्मी याममा बस्न अप्ठ्यारो मानेर विद्यार्थीहरूले कक्षा छोड्ने क्रम बढेको छ ।’
भवन जीर्ण भएका तथा भौतिक संरचनाको अभाव भएका विद्यालयका लागि भनेर वर्सेनी आउने ब्लक कोटा पनि पहुँचका भरमा वितरण हुने गरेको स्थानीय अभिभावक रमेश चन्दको आरोप छ ।
जिल्लाका अधिकांश विद्यालय भवनहरू जीर्ण अवस्थामा रहएकाले पठनपाठनमा समस्या रहेको जिल्ला शिक्षा समन्वय एकाई प्रमुख नरेन्द्र थापाको भनाई छ ।
उनले भने–‘भवन र फर्निचर मागसम्बन्धी धेरै निवेदन परेका छन् । तर, सबैमा बजेट छुट्याउन सकिएको छैन । क्रमिक रूपमा समस्या समाधान गर्ने काम चलिरहेको छ ।’
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले गाउँपालिकाका विद्यालयमा समस्या विद्यमान रहेको र अहिले त्यसको पहलका लागि गाउँपालिकाले काम गरिरहेको बताए ।
उनले भने–‘समस्या विद्यमान छन् । एकै पटक सबै विद्यालयको समस्या समाधान गर्न सकिँदैन । विस्तारै समस्या हल हुँदै जान्छ ।’

