उमेर नखुलेकी युवतीलाई सामूहिक बलात्कार घटनाका फरार आरोपित त्रियुगा नगरपालिका–६ का ४३ वर्षीय हरिनारायण सदा २४ वर्षपछि भदौ २६ गते गिरफ्तार भएका छन् ।
जिल्ला अदालतको सुरक्षार्थ खटिएका असई मदनकुमार श्रेष्ठ र अदालतका कार्यालय सहायक नारायणप्रसाद ढकालको टोलीले सिरहा जिल्लाको लहान नगरपालिकास्थित मुसरनीया टोलमा लुकिछिपी बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
०५२ माघ १४ गते त्रियुगा नपा– ६ स्थित जलजले–चुहाडे सडकखण्डको त्रियुगा पुलमा उमेर नखुलेकी युवतीलाई सामूहिक बलात्कार गरी फरार रहेका तीन जनामध्ये सदा गिरफ्तारीमा परेका हुन् ।
फरार रहेका अन्यको हकमा अदालतले नाम गोप्य राखी खोजी गरिरहेको अदालतका तहसिलदार कुलबहादुर खत्रीले बताए । अदालतको फरार सूचीमा रहेका सदालाई गोप्य सूचनाको आधारमा गिरफ्तार गरिएको उनले बताए ।
आरोपित सदालाई पुनरावेदन अदालत राजविराजले चार वर्ष कैद सजायको फैसला गरेको थियो । ०५३ फागुन १२ गते न्यायाधीश गोपाल गुरागाँईको इजलासले कसुर दावी नपुग्ने भन्दै सफाइ दिएपछि उनी फरार थिए ।
अदालतको निर्णय उपर सरकारी वकिल कार्यालयले तत्कालीन पुनरावेदन अदालत राजविराजमा निर्णय पुनरावोलकनको माग गर्दै मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको जिरह अनुसार ०५५ पुस २० गते न्यायाधीश मोहनप्रसाद घिमिरे र ताहिर अली अन्सारीको संयुक्त इजलासले जिल्लाको निर्णय उल्ट्याउँदै चार वर्ष कैद सजाय हुने गरी फैसला सुनाएको तहसिलदार खत्रीले बताए ।
उक्त निर्णयलाई सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको संयुक्त इजलासले ०७२ जेठ ३१ गते सदर गरेको थियो ।
पीडितले ०५२ माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा तीन जनाविरूद्ध उजुरी दर्ता गरेकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतलामा ०५२ माघ २० गते गरिएको थियो ।