INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोको उच्च जोखिममा मजुवा गाँउ

दुई वर्षअघि पहिरोवाट जोगिन साँगुरीगढी गाउँपालिका–६ मझुवाका अमतृबहादुर घागा मगर नौ रोपनि जग्गा किनेर गाँउको पुछारबाट सिरानतिर सरे ।

 

तर, सिरानमा सरेको दुई वर्ष नबित्दै पहिरो उनको घरमै आइपुग्यो । बस्ती नजिकै रहेको साचा खोलाको पहिरोबाट जग्गा जमीन जोगाउन नसकेपनि दुई वर्षअघि लगाएको टिन तथा काठपात जोगाउन छिमेकीको साहारामा उनले घर भत्काए ।

 

घर सहित करिब नौ रोपनि जग्गा पहिरोले तान्न थालेपछि अहिले उनी घरबार विहीन बनेका छन् । ‘तलको घरबारी पनि पहिरोले तान्यो र माथि सरेको अहिले त माथि पनि पहिरोले तानेर घरबार विहीन बनायो ।’–उनले भने ।

 

पहिरोको उच्च जोखिमका कारण यतिबेला धनकुटाको साँगुरीगढी गाँउपालिका–६ को मजुवा गाउँबासी त्रसित छन् ।

 

पहिरोले जमीन चिराचिरा पर्न थालेपछि मजुवाबासीलाइ न त दिनमा भोक लाग्छ न त रातमा निन्द्रा नै लाग्छ ।

 

सोही गाउँका ज्ञानबहादुर घागा मगरले घर छाडेको दुई महिनाभन्दा बढी भइसक्यो । उनी छोरीज्वाँइको घरमा बस्दै आइरहेका छन् ।

 

मझुवा गाउँका २७ घर मध्ये १३ घर पहिरोको उच्च जोखिममा रहेका छन् । केहीले अमृत र ज्ञानबहादुर जस्तै घर छाडिसकेका छन् भने केही जोखिममा नै बसिरहेका छन् ।

 

घर वरिपरीको जमिन धाँजा फाटिसकेको छ । घर मुनीबाट पहिरोले अलिअलि गर्दै तानिरहेको छ । पहिलेपहिले सानो पहिरो खस्ने गरे पनि तीन वर्ष यता भने बर्सेनी सो स्थानमा ठुलो पहिरो खस्ने गरेको स्थानीय बताउँछन् । डरैडरको बिच बसिरहेको स्थानीय सरोज मगरले बताए ।

 

केही परिवारको लागि स्थानीय सामुदायिक भवनमा बासको प्रबन्ध स्थानीय आफैँले गरेका छन् । स्थानीयले न त गाँउ छोडिहाल्न सकेको छन् त न पहिरोको डरले नै उनीहरूलाई छोडेको छ ।

 

राहत, सहयोग र उद्धारको लागि जिल्ला प्रशासन कार्यलय, रेडक्रस, नेपाली सेना, गाउँपालिका तथा आफूहरूले सहयोग गरेको वडाध्यक्ष दिपक मगरले बताए ।

 

पहिरोकै कारण भेडेटार–रवि राँके सडक समेत उच्च जोखिममा परेको छ । मझुवासहित मुक्तेन गाउँ पुग्ने कच्ची सडक समेत चर्किएर चिरा चिरा परेको छ ।

 

जसका कारण गाउँसँग सडक सञ्जालको सम्पर्क टुटेको छ । मुक्तेन गाउँका बासिन्दा बाटोको अर्को विकल्प नै नभएपछि जोखिम मोलेर पहिरोबाटै आवतजावत गर्न बाध्य भएका छन् ।

photo20190907dhankuta (1)

photo20190907dhankuta (2)

अन्य

भिडियो