हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको विवादपछि उत्पन्न झडपमा परी घाइते भएका हंसपुर नपा–२ बघचौराका ६७ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा भदौ १८ गते राति मृत्यु भएको छ ।
गत साउन २१ गते कार्यालय सार्न खोज्दा हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणुदेवी झाको समूहबिच झडप भएको थियो ।
सोही झडपमा परी घाइते भएका मण्डल जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । उपचारकै क्रममा भदौ १८ गते उनको मृत्यु भएको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्डेण्ट नागेन्द्रप्रसाद यादवले बताए ।
उनको मृत्यु भएपछि हंसपुर नगरपालिकाका उपमेयर झाका समर्थक स्थानीयले भदौ १९ गते दिउँसो अस्पतालमा आएर घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
यसैबिच इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवान, ओरेक धनुषा संयोजक रोजलिन बछार र थर्ड एलायन्सका प्रदेश संयोजक विनोदकुमार रविदासले अस्पतालमा पुगेर प्रर्दशनको अनुगमन गर्नुका साथै हंसपुर नगरापालिकाका स्थानीयसँग भेटी घटनाका बारेमा जानकारी लिएका छन् ।
उपचारमा संलग्न डाक्टर कामेश यादवले बायाँ गोडा भाँचिएकाले उपचारका क्रममा रहेका मण्डलको मृत्यु भएको बताए ।
घटनालाई लिएर आन्दोलन जारी रहेको र पोष्टमार्टमका लागि मृतक पक्ष नआएका कारण पोष्टमार्टम हुन नसकेको उनले बताए ।


