बालविवाह गरेको र बाल विवाहमा संलग्न रहेको कसुरमा जिल्ला अदालत, सल्यानले भदौ १८ गते तीन जनालाई जनही दुई महिना कैद र २ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
१८ वर्षीया बेहुली, बेहुलाकी ५४ वर्षीया आमा र शारदा नपा–४ पिपलनेटा बस्ने ६६ वर्षीय पण्डित अशोक गौतमलाई जिल्ला अदालतले सो सजाय सुनाएको जिल्ला अदालतका निमित्त प्रमुख हरिबहादुर राम्जाले जानकारी दिए ।
बेहुला भने उमेर नपुगेको नाबालक रहेको भन्दै अदालतले सफाई दिएको राम्जाले बताए । असार २७ गते स्थानीयले बालविवाह भइ रहेको सूचना प्रहरीलाई दिएपछि प्रहरी घटनास्थलमा पुगेर चारै जनालाई गिरफ्तार गरेको थियो ।
मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ को उपदफा १ मा बालविवाहसम्बन्धी कसुर अन्तर्गत २० वर्ष उमेर नपुग्दै बालविवाह गर्ने गराउनेलाइ तीन वर्ष कैद र ३० हजार रुपियाँसम्म जरिबाना हुने उल्लेख छ ।