आमाछोदिङमो गाउँपालिका–३ गत्लाङका १९ वर्षीय युवक आशिस तामाङलाई भदौ १७ गते दिउँसो ४ः३० बजे टिमुरे प्रहरी चौकीका प्रहरीले सडकमै कुटपिट तथा दुर्व्यवहार गरेको पीडितले आरोप लगाए ।
ना ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक च्याङबा तामाङसँग घुम्नका लागि केरुङ जान लागेको बेला गाडीमा रहेका युवालाई चौकीका असई डिल्ली चा श्रेष्ठ र प्रहरी हवल्दार रामबहादुर तामाङले टिमुरेमा अपशब्दले गाली गरी कुटपिट गरी दुर्व्यवहार गरेको पीडितका बाबु पेम्पा तामाङले बताए । पीडितलाई प्रहरीले सडकमा लछारपछार गर्दै कुटपिट गरेकाे भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।
‘रोकेर राखिएको अवस्थाको ना ६ ख ४९२५ नम्बरको कन्टेनरमा यो कस्को गाडी हो भने । किन गलत ठाउँमा पर्किङ गरेको ? भन्दै प्रहरीले सोधे ।’–कक्षा १२ मा अध्ययनरत तामाङले भने–‘मेरो भन्ने बित्तिकै प्रहरीले अपशब्दले गाली गरेर कुटपिट गर्न थाले । मैले थप केही भन्ने अवसर नै मिलेन ।’–उनले भने ।
घटनामा संलग्न प्रहरीहरुलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको र आवश्यक अध्ययनपछि विभागीय कारबाही हुने जिल्ला प्रहरी कार्यालयका डिएसपी भाग्येन्द्रपुरुष ढकालले बताए ।
भदौ १८ गते भएको छलफलबाट जिल्ला न्यायधिवक्ता बाबुराम भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ ।
समितिमा सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराई, प्रहरीका तर्फबाट गोकर्ण थापा, व्यवसायीका तर्फबाट कामीनुर्पू तामाङ र जनप्रतिनिधीका तर्फबाट दावादोर्जे तामाङ रहेका छन् ।
यसैबिच प्रहरीले व्यापारी तथा चालकहरूसँग अवैध रूपमा रकम लिएर रातिराति गाडी छाड्ने गरेको टिमुरेका स्थानीय व्यापारी तथा सिमापार व्यवसायी सङ्घका अध्यक्ष कामीनूर्पु तामाङले आरोप लगाए ।
प्रहरीले स्थानीयलाई दुःख दिएको र ज्यादती गरेको भन्दै रातभर र भदौ १८ गते बिहानसम्म प्रदर्शन गरेका स्थानीयले भदौ १७ गते साँझ नै प्रहरीको चेकजाँच गर्ने ठाउँ भत्काएका थिए ।
नागरिकमाथि प्रहरीको बर्बरताविरूद्ध प्रदर्शन गरिएको भन्दै अर्कै गाडीका चालक कुमार नगरकोटीले दोषीलाई कारबाही नगरे आन्दोलन नरोकिने चेतावनी दिए ।
प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा समस्या समाधानका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा दिनभर छलफल भएको थियो ।
कुटपिटको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भदौ १७ गते बेलुका ९ बजे नै प्रहरीले विज्ञप्ति जारी गरी दोषीमाथि काबवाही गरिने जनाएको थियो ।
नेकपा र नेपाली कांग्रेस पार्टी प्रतिनिधि, जनप्रतिनिध, व्यवसायी र सुरक्षा निकायको बैठकबाट सुरक्षा संवेदनशीलतालाई ध्यान दिइ रसुवागढी, टिमुरे क्षेत्रमा रातको समयमा ११ बजेसम्म मात्र बजार खुल्ला गर्ने, चेक जाँच मर्यादित बनाउने र चेकजाँच बिन्दु पुनरावलोकन गर्ने, पार्किङ तथा स्थानीय समस्या समाधान गर्न गोसाइकुण्ड गाउँपालिका वडा नं.२ का अध्यक्षको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।
त्यसैगरी प्रत्येक महिना समितिमा छलफल गरी आइपरेका समस्या समाधानका लागि पहल गर्नेलगायत आठ बुँदे सहमति भएको जनाइएको छ ।
जिल्लावासीलाई सिधै केरुङसम्म जान एकदिने पास र साना सवारी साधन लिएर सिधै केरुङसम्म जानका लागि प्रशासनले आवश्यक पहल लिने, प्रवेश पास नविकरण तथा वितरण व्यवस्थित र गलत तरिकाले पास लिने प्रवृत्ति निरुत्सहित गर्ने, रसुवागढी सिमा सुरक्षा व्यवस्था, बजार, पार्किङ व्यवस्थापन गर्ने र तस्करी नियन्त्रण गर्न स्थानीयको समेत सहयोग लिने गरी १७ गते टिमुरेमा भएको घटनापछिको आन्दोलन स्थगन गर्ने समेत निर्णय भएको हो ।