जुनिचाँदे गाउँपालिका १० र ११ सिर्फ कोर्ताङमा मौसमी फ्लुका कारण स्थानीयहरू बिरामी परेका छन् ।
सदरमुकाम खलङ्गा बाट दुई दिनको पैदल दुरीमा रहेको सिर्फा एक हप्तादेखिे मौसमी फ्लु देखा परेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख गौरब ढकालले बताए ।
जिल्ला सदरमुकामस्थित स्वास्थ्य कार्यालयबाट औषधि पठाउने तयारी भइरहेको भएपनि वर्षात्का कारण औषधि पठाउनका लागि समस्या भएको जनाइएको छ ।
अहिले कोर्ताङस्थित स्वास्थ्य चौकीमा सिटामोल सम्म नभएपछि आएका बिरामीलाई खाली फर्काउनु परिरहेको कोर्ताङ स्वास्थ्य चौकी प्रमुख अशोक यादवले बताए । गाउँपालिकाले औषधि खरिद नगरेको र जिल्लाबाट पनि हालसम्म नपुगेको उनले बताए ।
जुनिचाँदे गाउँपालिका स्वास्थ्य प्रमुख विष्णु गिरीले जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि माग गरिएको भएपनि अब केही दिनमा आउने बताए ।
जिल्लाको सबैभन्दा दुर्गम ठाउँको रूपमा रहेको कोर्ताङ र सिर्फा यातायातको पहुँच नभएका कारण समयमा औषधि ढुवानी हुन नसकेको स्वास्थ्य प्रमुख गिरीको भनाई छ ।
यतिबेला स्वास्थ्य संस्थामा सिटामोल, सामान्य इन्जेक्सन र जीवनजल समेतको अभाव रहेको स्वास्थ्य चौकी प्रमुख यादव बताउँछन् ।
दैनिक १ सय भन्दा बढी बिरामी उपचार सेवा लिन आउने भएपनि औषधि अभावका कारण चेकजाँच हुने गरेपनि बिरामी खालिहात फर्कनु पर्ने बाध्यता रहेको समेत प्रमुख यादवले बताए ।
औषधि अभावका कारण बिरामीको उपचार गर्न मुस्किल भएको भन्दै यादवले भने तातोपानी पिउन, खाना सफा खान र सरसफाईमा ध्यान दिन भन्दै मौखिक सरसल्लाह मात्र दिने गरेका छौँ ।