पञ्चेश्वर गाउँपालिका–२ जेबल्कट्यामा ०७६ भदौ ८ गते राति अज्ञात पक्षबाट खानेपानीको लाइन अबरूद्ध पारिएपछि यहाँका १ सय ५० परिवार खानेपानीबाट वञ्चित भएका छन् ।
भदौ ८ गते राति १० बजेसम्म गाउँमा खोपानी आपुर्ति भइरहेको भएपनि राति १२ बजेको समयबाट पानी आउन छोडेको स्थानीय राजेन्द्र चन्दले बताए ।
गाउँभन्दा साढे चार किलोमिटर माथि ग्वाल्लेक जङ्गलको तोलिगडामा रहेको मुहानको ट्याङ्की तोडफोड गर्नुका साथै पाइपहरू पनि काटिएको चन्दको भनाई छ ।
‘पाइप काटेर टुक्राटुक्रा पारिएको छ । मुहानस्थित खानेपानीको ट्याङ्कीपनि भत्काइको छ ।’–स्थानीय बिरबहादुर चन्दले भने–‘भदौ ८ गते रातिबाट गाउँमा खानेपानीको आपुर्ति नहुँदा खानेपानीको चरम समस्या भएको छ ।’
आर्थिक वर्ष २०७५/०७६ मा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामार्फत उक्त खानेपानी योजनाका लागि ४० लाख बजेट विनियोजन गरेको थियो ।
सोही रकमबाट खानेपानी योजना निर्माण गरी खानेपानी आपुर्ति गरिएको तोलिगडा जेबल्कट्या खानेपानी योजना निर्माण समितिका अध्यक्ष महेशराम नेपालीले बताए ।
‘पुरै योजना बनिसकेको थिएन । हामीले गाउँमा खानेपानी सञ्चालन गरेका थियौँ । धारा तथा अन्य फिनिसिङको काम बाँकी नै थियो ।’–अध्यक्ष नेपालीले भने–‘चार इन्टेकमध्ये एक इन्टेक टोडफोड गरी पाइप काटिएको छ । हामीले यसबारेमा घटनाको भोलिपल्टै प्रहरीलाई पनि निवेदन दिएका छौँ ।’
वषौँपछि गाउँमा खानेपानीको आपुर्ति भएकाले गाउँभन्दा बाहिरका व्यक्तिहरूले तोडफोड गरेको हुनसक्ने नेपालीको अनुमान छ ।
खानेपानी लाइन काटकुट गरी अबरूद्ध पारिएको भन्ने निवेदनका आधारमा घटनाबारे थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
