INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले विद्यालय बगाएपछि रुखमुनी पढाइ सञ्चालन

ठुला दुई पिपलको छहारी । करिब ३० जना स–साना बालबालिका । पानी परे ओत्दैन । ठुलो हावा चले बच्न मुस्किल । पहिरोले विद्यालय बगाएपछि ठुलोलुम्पेक सिङ्दीका बालबालिकाले यही ठाउँबाट भविष्य खोजिरहेका छन् । गत साउन ६ गतेको अविरल बर्षासँगै आएको पहिरोले सिद्ध आधारभुत प्राविको चार कोठे भवनलाई बगाएको छ । अहिले सिद्ध आधारभुत प्रावि पिपलको छहारीमा छ ।

अर्को चार कोठे भवनको माथिल्लो तल्ला पुरिएको विद्यालयकी प्रध्यानाध्यापक ज्ञानमाया तरामुले बताइन् । विद्यालयको तलबाट पनि पहिरो गएको छ । खेल मैदानमा पहिरोले भरिएको छ । साउन २८ गतेबाट विद्यालय सञ्चालन भएपछि विद्यार्थीको पढाइ प्रभावित नगराउने उद्धेश्यले अस्थायी आवास नजिकै रुखको छहारीमा पढाइ सञ्चालन गरिएको तरामुले बताइन् ।

सिद्ध आधारभुत प्राविमा ५१ जना विद्यार्थीले अध्ययन गर्दै आएका थिए । अहिले ४० जना विद्यालय आउँछन् । पहिरोपछि १०÷१२ जना विद्यार्थी घरमा बस्नै समस्या भएपछि अभिभावकले जिल्ला बाहिर लगेर भर्ना गरेको शिक्षक दुर्गाबहादुर तरामुले बताए । त्यसमध्येका केही बिरामी परेका छन् । उनले सात जना विद्यार्थीलाई ठुलो पहिरो तरेर आउनुपर्ने जोखिम भएकाले सिङदीमै टेण्ट टाँगेर पढाइ सञ्चालन गरिएको बताए । शिक्षक तरामुका अनुसार उनीहरूलाई विषयगत शिक्षक–शिक्षिका परिवर्तन गरेर पालैपालो पढाउने गरिएको छ ।

चौरमा शौचालय छैन । शैक्षिक सामग्री सबै पहिरोसँगै बगे । कालोपाटी पनि छैन । आकाशमा बादल देखे टेण्टतिर दौडने हो । बालबालिका आफैँमा पनि विपतको मनोवैज्ञानिक असर छ । गर्मीको समय भएकाले बिहान साँझ टेण्टमा बसेर पढ्न पनि बालबालिकालाई निकै समस्या रहेको शिक्षक टेकबहादुर सिंजालीले बताए । ‘दिउँसोमा खुल्ला चौर, बिहान साँझ टेण्टको गर्मी बालबालिका निकै समस्यामा छन् । विकल्प छैन ।’–उनले भने–‘शिक्षक स्टाफहरूलाई पनि मुस्किल परेको छ ।’

सिद्ध आधारभुत विद्यालयका व्यावस्थापन समिति अध्यक्ष अर्जुन तरामुले आफूहरूको पहुँचमा विद्यालय पुनर्निर्माण नभएकाले बाध्य भएर अस्थायी शिविरमा पढाइ सञ्चालन गरिएको बताए । उनले अहिले बस्ती स्थानान्तरण र क्षतिको विवरण सङ्कलनको काम मात्रै भएकाले बालबालिकाको बिचल्ली परेको गुनासो गरे ।

अहिले सरकारले प्रावि तहका बालबालिकालाई दिवा खाजाको व्यावस्था गरेको छ । दिउँसोको समयमा विद्यालय आफैँले खाजा बनाएर बालबालिकालाई खुवाउँछ । सिद्ध प्राविका विद्यार्थीलाई त्यसको व्यावस्थापन पनि निकै चुनौती रहेको विद्यालयले जनाएको छ । ‘पकाउने भाँडा र सामग्रीनै छैनन् । टेण्टमा खाजा व्यावस्था चुनौती बन्यो ।’–प्रध्यानाध्यापक ज्ञानमाया तरामुले भनिन्–‘अहिले राहतकै चिउरा र चाउचाउ खुवाएका छौँ ।’ उनले दिवा खाजामा हरेक बार फरक परिकार बनाएर खुवाउनुपर्ने भए पनि तत्काल त्यसको व्यावस्थापन गर्न नसकिने बताइन् ।

पहिरोले विद्यालय मात्रै बगाएको छैन । सिद्ध प्राविमा पढ्ने विद्यार्थीहरूको घरमा पनि पहिरोले क्षति पुर्‍याएको छ । कतिपय विद्यार्थी र परिवार विस्थापित छन् । सोही विद्यालयको कक्षा ३ मा अध्ययन गर्ने गङ्गा र गगन बिकको घरसँगै किताव कापी पनि गुमे । कक्षा ५ मा पढ्ने कल्पना सिंजाली र शैलेस बिकको घरबारी नै छैन ।

photo20190830gulmi (1)

photo20190830gulmi (2)

photo20190830gulmi (3)

अन्य

भिडियो