जिल्लाका नौ ओटा स्थानीय तहमध्ये बडिमालिका नगरपालिका, बुढिगङ्गा नगरपालिका र हिमाली गाउँपालिकाबाहेक अन्य ६ ओटा स्थानीय तहका ६ सय ९ जना सुत्केरी तथा गर्भ परीक्षण गराएका महिलाहरू प्रोत्साहनबापत दिइने भत्ताबाट वञ्चित भएका छन् ।
तोकिएका अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाका लागि ३ हजार रुपियाँ र सुरक्षित गर्भपरीक्षण गर्ने महिलाका लागि ८ सय रुपियाँ दिने सरकारी नीति छ ।
६ स्थानीय तहमध्ये सबैभन्दा बढी बुढिनन्दा नगरपालिकामा सुत्केरी भए बापत १ सय ८८ र सुरक्षित गर्भ परीक्षण गराए बापत १ सय ५४ जना महिलाले प्रोत्सान भत्ता नपाएको पाइएको छ ।
बुढिनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक जशिराम लुहारले प्रोत्सान बापत प्राप्त १३ लाख रुपियाँबाट ४ लाख ५० हजार कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र, २ लाख ७५ हजार पाण्डुसेन स्वास्थ्य चौकी, १ लाख बाँधु स्वास्थ्य चौकी र ७५ हजार रुपियाँ कुरू स्वास्थ्य एकाईमा वितरण गरेको बताए ।
गत आर्थिक वर्षमा मात्रै कोल्टी स्वास्थ्य केन्द्र, पाण्डुसेन स्वास्थ्य चौकी, बाँधु स्वास्थ्य चौकी र कुरू स्वास्थ्य एकाईमा ४ सय २९ जना महिलाहरू सुत्केरी भएका भएपनि १ सय ८८ जना सुत्केरी महिलाहरूले रकम अभावका कारण प्रोत्साहन स्वारूप पाउने भत्ता नपाएको स्वास्थ्य संयोजक लुहारले बताए ।
प्रोत्साहन भत्ता अपुग भएको भन्दै समयसमयमा नगरपालिका र सामाजिक विकास मन्त्रालयलाई जानकारी गराएको भए पनि समस्या समाधान हुन नसकेको संयोजक लुहारले बताए ।
उनले भने-‘लेखा शाखामा सोध्दा माग गरेको रकम आएको छैन भन्ने जबाफ आयो । तर, अहिले बुझ्दा माग गरेको रकम प्राप्त भएको तर फ्रिज भएको थाहा पाइयो ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका योजना शाखा प्रमुख सुर्य खड्काले सुत्केरी महिलालाई प्रोत्साहन स्वारूप दिइने रकमका लागि पहिलो पटक १३ लाख ५० हजार, दोस्रो पटक ८ लाख ९० हजार र तेस्रो पटक ०७६ जेठ १७ गते ८ लाख ९० हजार गरी २८ लाख ५० हजार रुपियाँ बुढिनन्दा नगरपालिकालाई पठाएको बताए ।
उनले भने-‘नगरपालिकाले रकम कम भयो भनेर माग गरेको भए हामी समयमै सो रकम पठाउन तयार थियौँ । हामीलाई थप रकम पठाउनु पर्यो भनेर कुनै जनाकारी नै आएन । सुत्केरीले प्रोत्साहन भत्ता नपाउनु बिडम्बना हो । यो सरासर नगरपालिका र स्वास्थ्य संयोजकको कमजोरी हो ।’
मन्त्रालयबाट २८ लाख ५० हजार रुपियाँ पठाएको भएपनि स्वास्थ्य संयोजक र नगरपालिकाले १३ लाख ५० हजार रुपियाँ मात्र आएको भनेर पैसा नदिएको आरोप छ ।
खप्तड छेडेदह गाउँपालिकामा ३ सय ५५ जना सुत्केरी महिला सुत्केरी भए ती मध्ये ३० जना सुत्केरी महिलाले भत्ता नपाएको स्वास्थ्य संयोजक नन्दबहादुर रावतले बताए ।
उनले भने-‘पहिला आएको रकम सबै महिलालाई प्रोत्साह भत्ता दिन पुग्यो तर त्यसपछि आएका सुत्केरीहरूलाई प्रोत्साहन भत्ताबापतको रकम अपुग भएपछि फारम भरेर रकम माग गरेका छौँ ।’
जगन्नाथ गाउँपालिकामा १ सय ८६ जना सुत्केरी मध्ये ६२ जना सुत्केरीले प्रोत्साहन भत्ता नपाएको स्वास्थ्य संयोजक जनक शाहीले बताए ।
त्रिवेणी नगरपालिकामा गएको आर्थिक वर्षमा ४ सय ४ जना सुत्केरी मध्ये ७७ जना सुत्केरीले प्रोत्साहन भत्ता नपाएको स्वास्थ्य संयोजक चिरन्जीवी शाहले बताए । रकम अपुग भएपछि सम्बन्धित निकायमा फारम भरेर पठाएको उनले बताए ।
बुढिनन्दा नगरपालिका-१ की बिउरा बोहोराले ०७५ चैत १ गते पाण्डुसेन स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिएको भए पनि हालसम्म पनि प्रोत्साह स्वारूप पाउने भत्ता नपाएको गुनासो गरिन् ।
बुढीनन्दा नगरपालिका-८ की आरती धामीले पनि प्रोत्साहन स्वारूपको भत्ता नपाएको गुनासो गरिन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा गत आर्थिक वर्षको माघदेखि साउनसम्म १ सय ३६ जनाले सुत्केरी सेवा लिएको भए पनि कसैले पनि प्रोत्साहन भत्ता नपाएको अनमी देउमा धामीले बताइन् ।
उनले भनिन्-‘सुत्केरी भएकै बेला हातमा प्रोत्साहन भत्ता दिने व्यवस्था हो । तर, नभएपछि रित्तो हात घर पठाउने गरेका छौँ ।’
बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले आफूहरूलाई स्वास्थ्य संयोजकले पैसा नआएर नदिएको भनेर जानकारी गराएको बताइन् ।
नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन र गर्भजाँच गराउन प्रेरित गराउनका लागि स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत ३ हजार रुपियाँ र नियमित गर्भ जाँच बापत ८ सय रुपियाँ गरी एक जनाले ३ हजार ८ सय रुपियाँ अनिवार्य पाउने व्यवस्था रहेको छ ।