दमौली अस्पतालको लापरवाहीका कारण गत आर्थिक वर्षमा अस्पतालमा सुत्केरी भएका २३ जना यातायात खर्च पाउनबाट वञ्चित भएको गुनासो गरेका छन् ।
सरकारले सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने महिलालाई यातयात खर्च बापत पहाडी जिल्लामा २ हजार रुपियाँ प्रदान गर्दै आएको छ ।
त्यसबाहेक नियमित चार पटक गर्भ परीक्षण गर्नेलाई थप ८ सय रुपियाँ उपलब्ध गराउने नीति भएपनि दमौली अस्पतालमा गत आर्थिक वर्षको अन्तिम सातामा सुत्केरी भएका २३ जना सो सुविधाबाट वञ्चित भएका हुन् ।
अस्पतालको सरकारी खाता असोज २५ गते नै बन्द गरिएको र त्यसपछि कुनै पनि रकम झिक्न नपाएको कारण सो मिति भन्दापछि सुत्केरी हुन आउनेलाई रकम दिन नसकिएको दमौली अस्पताल, व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले बताए ।
सुत्केरीले रकम नपाएको बारेमा आफूले नयाँ आर्थिक वर्ष लागेपछि मात्र जानकारी पाएको हुँदा त्यसबारेमा सम्बन्धित कर्मचारीलाई स्पष्टिकरण सोधेको अधिकारीले बताए ।
असार २५ गतेपछि असार ३२ गतेसम्म दमौली अस्पतालमा २३ जना महिला सुत्केरी भएका थिए । ति सबै सुत्केरीले प्राविधिक कठिनाइका कारण अब सरकारी सुविधा नपाउने दमौली अस्पतालकी नर्सिङ अधिकृत जमुनादेवी शर्माले बताइन् ।
अहिले नयाँ आर्थिक वर्षसुरू भएको कारण अघिल्लो वर्षको सुत्केरीको अब रकम उपलब्ध गराउन नसकिने शर्माले बताइन् ।
अस्पताल व्यवस्थापन समितिका सदस्य नरेन्द्र ढकालले सबै आर्थिक व्यवस्थापनको कुरा लेखापालले मिलाउनु पर्नेमा उनकै कारण यो समस्या भएको बताए ।
दमौली अस्पतालमा गत आर्थिक वर्षमा ६ सय ७ जना महिला सुरक्षित सुत्केरी भएका थिए । त्यसमध्ये असार अन्तिम साता सुत्केरी भएका २३ जना मात्र सुविधा पाउनबाट वञ्चित भएका हुन् ।
त्यसैगरी चालु आर्थिक वर्षको साउन मसान्तसम्म दमौली अस्पतालमा सुत्केरी भएका ७२ जनाले पनि हालसम्म यो सुविधा पाएका छैनन् ।
चालु आर्थिक वर्षमा अहिलेसम्म खाता सञ्चालनको अख्तियारी प्राप्त नभएको कारण सुत्केरी भएका कसैलाई पनि यातायात खर्च दिन नसकिएको र खाता सञ्चालन हुनासाथ सम्पर्क गरेर रकम उपलब्ध गराउने नर्सिङ अधिकृत शर्माले बताइन् ।