जिल्ला अस्पताल बैतडीमा विगत चार महिनादेखि औषधिको अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।
जिल्ला अस्पतालमा अत्यावश्यक औषधि अभाव हुँदा बिरामीहरूले समस्या भोग्नु परेको जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर जगदीश विष्टले बताए ।
नेपाल सरकारको नियामनुसार हाल जिल्ला अस्पताल बैतडीबाट ७० प्रकारका औषधिहरू निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने भएता पनि हाल जिल्ला अस्पतालमा १३ प्रकारका औषधि मात्रै रहेको डक्टर विष्टले बताए ।
औषधि अभावको जानकारी आजभन्दा पाँच महिना अगाडि नै गराएको भएपनि अझैसम्म आपुर्ति हुन नसकेको उनको भनाई छ ।
‘नेपाल सरकारले निशुल्क दिने भनेका सबै औषधि कहिले पनि पुरा भएनन् खास गरी विगत चार महिनादेखि यहाँ औषधिको बढी अभाव भएको हो ।’-उनले भने-‘धनगढीस्थित मेडिकल स्टोरमा पनि औषधि अभाव भएकाले आपुर्ति नभएको सुनिएको छ । खै कहिले पो आपुर्ति हुन्छ ।’
जिल्ला अस्पतालमा मात्रै होइन अन्य नगर तथा गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि नेपाल सरकारले निःशुल्क दिने भनेका औषधिको अभाव छ ।
यहाँका स्थानीयले सामान्य बिरामी पर्दा समेत निजी मेडिकलको भर पर्नु परेको स्थानीय खेमराज भट्टले बताए ।
औषधि खरिदको लामो एवम् झञ्झटिलो प्रक्रिया, मेडिकल स्टोरमा औषधिको अभाव हुनु र स्थानीय तहले पर्याप्त औषधि बेलैमा खरिद नगर्नु जस्ता कारणले जिल्लामा औषधिको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निशा जोशीले बताइन् ।
स्वास्थ्य संस्थामा पुग्दा औषधि नै छैन भन्ने जबाफ आउने गरेको दशरथचन्द नगरपालिका-४ का स्थानीय बासु भट्टको भनाई छ ।
उनले भने-‘समान्य खालका सिटामोल, आइरन चक्कीसमेत पाइँदैन । यसले गर्दा बिरामीहरूले निकै समस्या भोग्नु परेको छ ।’
नेपाल सरकारले निशुल्क औषधिको बर्गिकरण गरेपनि कहिल्यै पनि ति सबै औषधिहरू स्वास्थ्य संस्थामा पुग्न नसकेको सिगास गाउँपालिकास्थित थलाकाँडा स्वास्थ्य चौकीका प्रमुख भिमसिंह ऐरीले बताए ।