पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर साउन २९ गते दिउँसो बम विष्फोट भएको छ ।
स्थलमार्ग हुँदै कालिकोट पुगेका मुख्यमन्त्री शाही पचालझरना गाउँपालिका-३ खिग्ग्ममा भइरहेको कार्यक्रममा सहभागी थिए ।
गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले कार्यक्रम स्थलभन्दा एक किलोमिटर परको जङ्गलमा भएको बम विष्फोट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले गराएको हुनसक्ने अनुमार रहेको जानकारी दिए ।
विष्फोटबाट क्षति भने नभएको बताउँदै अध्यक्ष शाहीले घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
यसअघि पनि जेठ १५ गते पलाँता गाउँपालिका-९ मा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विष्फोट भएको थियो ।