INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयाको ढिलाइले ७९ वर्षीय कैदीको कारागारमै मृत्यु

सप्तरी जिल्ला कारागारमा कैदी जीवन बिताइरहेका तिरहुत गाउँपालिका-५ लोहजराका ७९ वर्षीय रबी मरिक यादवको साउन २९ गते अपरान्ह मृत्यु भएको छ ।

उच्च रक्तचाप, दम र बाथरोगका विरामी यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्‍याए लगत्तै चिकित्सकहरूले मृत घोषणा गरेको कारागारका निमित्त प्रमुख सत्यनारायण यादवले जानकारी दिए ।

तिरहुत गाउँपालिका-५ का झडीलाल कुसियैत यादवलाई ०६५ मङ्सिर २ गते अपहरण गरी गोली हानी हत्या गरेको भन्दै उनकी पत्नी बिन्दादेवी यादवसमेतको उजुरीमाथि फैसला गर्दै सप्तरी जिल्ला अदालतले रबीलाई ०७१ भदौ १५ गते तीन वर्षकैदको फैसला गरेको थियो ।

उच्च अदालत जनकपुर राजविराज इजलासले ज्येष्ठ नागरिकका हैसियतमा २० प्रतिशत कैद छुट गर्दै ०७५ जेठ ९ गते दुई वर्षपाँच महिना कैद ठेकेको थियो ।

झडीलालको गोली लागी हत्या भएको अवस्थामा तिरहुत गाउँपालिका-३ गोइठीमा शव फेला परेको तर बृद्ध रबी मरिक यादव निर्दोष रहेको उनका कान्छा छोरा जोगेन्द्र मरिक यादवले बताए ।

रबी ०७५ असार ६ गते स्वयम् अदालतमा उपस्थित भई राजविराज कारागारमा थुनामा गएको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले बताए ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को दफा १२ अनुसार सरकारवादी भई चलेको कुनै पनि मुद्दामा कैद भोगिरहेका ७५ वर्षउमेर पूरा भएका ज्येष्ठ नागरिकलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने र अशक्त ज्येष्ठ नागरिक वा ७५ वर्षउमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई अदालतले कसूरको गाम्भीर्यता हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न आदेश दिन सक्ने व्यवस्था गरेको छ ।

वर्तमान कानुनी व्यवस्था अनुसार ७५ प्रतिशत छुटका हिसाबले नौ महिना कैद भुक्तान गर्दा हुनु पर्नेमा कानुनी प्रक्रियाको ढिलाइले उनी १३ महिना २५ दिन कैद बस्दा पनि नछुटेर कारागारमै मृत्युवरण गर्नुपरेको परिवारका सदस्यहरूले गुनासो गरेका छन् ।

यसैगरी ६५ वर्षउमेर पूरा भई ७० वर्षननाघेको ज्येष्ठ नागरिकलाई २५ प्रतिशतसम्म, ७० वर्षउमेर पूरा भई ७५ वर्षननाघेको ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म कैद छुट दिन सकिने ऐनमा व्यवस्था रहेपनि छुटनु पर्ने एक दर्जन बढी ज्येष्ठ नागरिक कारागारमा थुनामा रहेको चौकिदार जितेन्द्रप्रसाद यादव बताउँछन् ।

अन्य

भिडियो