तिला गाउँपालिका–४ नुवाकोटका दृष्टिविहिन गणेश खत्री ०७५ सालको एसइई परीक्षामा ३.०५ जिपिए ल्याएर उत्तीर्ण भए ।
कक्षा १० सम्म ब्रेललिपीको सहयोगमा अध्ययन गरेका खत्रीले अब उच्च शिक्षा सुनेकै आधारमा अध्ययन गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।
सुनेकै भरमा अध्ययन गर्न कठिन हुने भएकाले कक्षा ११ देखि माथि पनि ब्रेललिपीमा पाठ्यपुस्तक हुनुपर्ने दृष्टिविहिन विद्यार्थीहरूको माग रहेको छ ।
उनीहरूले साउन २३ गते अपाङ्ग पुनस्र्थापना तथा विकास केन्द्रमा आवासीय छात्रावास, आवासीय छात्रवृत्ति सहित ब्रेललिपी पाठ्यपुस्तकको पहल गरिदिन अनुरोध गरेका छन् ।
अपाङ्ग पुनस्र्थापना तथा विकास केन्द्र, जुम्लाका अध्यक्ष नन्दराज धितालले मागका बारेमा सरोकारवाला निकायहरूसँग छलफल गर्ने बताए ।
राज्यले सबैका लागि शिक्षा भन्ने मुल नारा अगाडि बढाए पनि अपाङ्गता भएका व्यक्तिहरूको शैक्षिक पूर्वाधारको अभाव रहेको उनले बताए ।
सरकारले उच्च शिक्षासम्म पनि ब्रेललिपी पुस्तकको व्यवस्था हुनुपर्ने अपाङ्गता भएका व्यक्तिहरूले माग गर्दै आएको भएपनि राज्यले अहिलेसम्म सुनुवाइ नगरेको उनीहरूको आरोप छ ।
गणेशसहित उनका दुईजना साथी पातारासी गाउँपालिकाका डिलबहादुर बुढा र अमृत बुढा पनि उच्च शिक्षाका लागि जुम्ला सदरमुकाम आएका छन् ।
उनीहरूले सिञ्जा गाउँपालिकामा रहेको भैरव माध्यामिक विद्यालय, नराकोटबाट एसइई उत्तीर्ण गरेपछि सदरमुकाम खलङ्गास्थित चन्दननाथ माध्यामिक विद्यालयमा उच्च माध्यमिक तहको अध्ययन सुरू गरेका छन् । विद्यालयमा भर्ना भएपनि निःशुल्क आवासीय व्यवस्था र छात्रवृत्तिको माग उनीहरूको रहेको छ ।
सरकारले आवासीय रूपमा बसेर अध्ययन गर्ने अपाङ्गता भएका विद्यार्थीलाई ४ हजार रुपियाँ छात्रवृत्ति दिने व्यवस्था भएको जानकारी भएपनि कहाँ कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा जानकारी नभएको खत्रीले बताए ।
भैरव माध्यमिक विद्यालय नराकोटबाट यसवर्ष पाँच जना दृष्टिविहिन विद्यार्थीले एसइई उत्तीर्ण गरेको विद्यालयका स्रोत शिक्षक दत्तबहादुर बुढाले जानकारी दिए ।
छात्रवृत्ति र छात्रावासका लागि नियमानुसार पहल गरिने जुम्लाको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख मकरबहादुर भण्डारीले बताए ।