INSEC Online

📅 २०८३ जेष्ठ २२

कुमार पौडेलको हत्यासम्बन्धमा अधिकारकर्मीहरूद्वारा निष्पक्ष छानविनको माग

गत असार ५ गते सर्लाही जिल्लाको लालवन्दी नपा-१ लखनदेही खोला नजिकैको जङ्गलमा सर्लाही जिल्ला बागमती नगरपालिका-२ धरहरा निवासी कुमार पौडेलको प्रहरीसँग भएको मुठभेडमा मृत्यु भएको भनिएको घटना सम्बन्धमा निश्पक्ष छानविनको माग गरिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको सर्लाही जिल्ला इन्चार्ज समेत रहेका पौडेलको हत्या गैर न्यायिक हुनसक्ने भन्दै जबाफदेहिता निगरानी समितिले साउन १९ गते राष्ट्रिय मानव अधिकार आयोगसमक्ष छानविनको माग गरेको हो ।

‘संविधानप्रदत्त नागरिकको बाँच्न पाउने अघिकार कुण्ठित भएको यस घटनामा विभिन्न सङ्घ-संस्थाका स्थलगत भ्रमण प्रतिवेदन, स्थानीय व्यक्तिहरू तथा मृतकका आफन्तहरूले कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभई प्रहरीले नियन्त्रणमा लिई चरम यातना दिए पश्चात गोली हानी भएको आशङ्का गरिरहेको अवस्था छ ।’-समितिले आयोगमा बुझाएको पत्रमा भनिएको छ ।

यस घटनाका सम्बन्धमा संसदमा समेत आवाज उठेर हालसम्म संसद अवरूद्ध हुँदापनि सरकार गम्भीर भएको नदेखिएको भन्दै समितिले यस गम्भीर घटनालाई दोहोरो भिडन्तमा घटेको भनेर सरकारले दोषीलाई उन्मुक्ति दिन खोजेको आशङ्का गरेको छ ।

अन्य

भिडियो