नेपालको संविधान भाग–३ स्वास्थ्य सम्वन्धि हक (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ ।
जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क पाउनुपर्ने हो । अझ निःशुल्क औषधिको नामसहितको विवरण नागरिक वडापत्र सेवाग्राहीले हेर्न तथा पढ्न मिल्नेगरी कार्यालयमा व्यवस्था गर्नुपर्ने प्रावधान छ ।
तर, जिल्ला अस्पतालबाट पाउनुपर्ने निःशुल्क औषधि पाउनबाट वञ्चित भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
स्वास्थ्य चेकजाँचमा आएका सेवाग्राहीले डक्टरले पुर्जामा सिफारिस गरेको निःशुल्क औषधि अस्पतालको फार्मेसीबाट नपाएको गुनासो गरेका हुन् ।
फुङलिङ नगरपालिका–३ का दिलिप बरालले अस्पतालमा निःशुल्क औषधि फार्मेसीको कुनामा लुकाए झैँ गरी राख्ने गरेको गुनासो गरे ।
साउन १४ गते पत्नीको चेकजाँचका लागि अस्पताल पुगेका बरालले भने–“पैसा पर्ने औषधि देखिने गरी राखेको हुन्छ । तर, निःशुल्क वितरण गर्ने औषधि चाहिँ कुनामा लुकाएर राख्नु किन ?”
फुङलिङ नगरपालिका–५ का अञ्चल गुरुङले भने–“अधिकांश सेवाग्राहीलाई थाहा हुँदैन कि कुन नामको औषधि निःशुल्क हो ? सेवाग्राहीलाई सचेतना र अस्पतालले निःशुल्क औषधि वितरण गरे नगरेको अनुगमन हुनुपर्छ ।”
जिल्ला स्वास्थ्य कार्यालयको गोदाममा औषधि त प्रशस्त छ, तर गोदामबाट अस्पतालको वितरण केन्द्रसम्म ल्याउने जनशक्ति नहु“दा समस्या भएको छ ।
अस्पतालका कार्यालय सहयोगी लगायतको जनशक्ति कर्मचारी समायोजनमा नगरपालिकातिर गएपछि र अस्पतालमा कामगर्ने जनशक्ति नभएपछि समस्या भएको स्टोरको जिम्मेवारी लिएका डम्बर श्रेष्ठले बताए ।
श्रेष्ठले भने–“प्रदेशको आपूर्ति विभागले पनि औषधि छ की छैन भनेर सोधेको थियो । सङ्घ र स्थानीय स्तरमा हुनुपर्ने औषधि पनि छ भन्यौ । तर, वितरण समस्या छ ।”
जनस्वास्थ्यको गोदामवाट अस्पतालसम्म ल्याउने जनशक्तिको अभावले व्यवस्थापनमा कठिनाइ भएको उनले बताए ।
उजुरी र मुद्दामामला जस्ता कारण समयमा खरिद गर्न नसकेकाले अस्पतालको फार्मेसीमा प्रशस्त औषधि हुन नसकेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सोनिम लामाले आफू बिरामी भएकाले बेड रेष्टका लागि बसेको र निको भएपश्चात निःशुल्क औषधि वितरणमा समस्या नहुने बताए ।