पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ ।
सत्यवति गाउँपालिका-३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । लुम्पेककै अन्य बस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई स्थानीय धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको वडाध्यक्ष रुकबहादुर रानाले बताए ।

त्यस्तै वडा नं ४ लिम्घामा पनि २ सय घर परिवारलाई सरस्वती माविमा व्यावस्थापन गरिएको छ । वडाध्यक्ष दानबहादुर रानाका अनुसार पहिरो गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि राति नै घर छोडर आएका छन् ।
राहत बाटोमैः गाउँमा खाद्य सङ्कट
पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरू अबरूद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या थपिँदै गएको छ ।
पहिरोले सबैभन्दा बढी मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अबरूद्ध छ । जसका कारण साउन ७ गते उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी सङ्घ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिँडेर घटनास्थल पुगेका थिए ।

राहत बोकेका गाडीहरू शाहाघाटमै दुई दिनदेखि रोकिएका छन् । सडक अबरूद्ध भएपछि झण्डै २ सय जना स्थानीयलाई स्थानीय स्तरमा व्यावस्थापन गर्न निकै मुस्किल परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।
उनले गाडी बजारबाट आउने सम्भावना नभएकाले गाउँमा भएको दाल, चामल, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री सकिएको बताउँदै थप व्यावस्थापन चुनौतिपूर्ण भएको बताए ।
त्यस्तै ठुलोलुम्पेक जाने सबै सडक अबरूद्ध छन् । विभिन्न स्थानबाट ल्याइएको राहत सामग्री रुद्रवेणीमा रोकिएको वडा नं १ का वडाध्यक्ष भिमलाल पाण्डेयले बताए ।
हेलिकप्टर परिचालन गर्दैछौँ: प्रजिअ
पहिरो प्रभावित क्षेत्रमा सडक अबरूद्ध भएपछि उद्दार तथा राहतमा समस्या देखिएकाले हेलिकप्टर परिचालन गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

‘सडकको कुनै विकल्प बाँकी भएन । राहत बाटोमै रोकिएपछि समस्या देखिएको छ ।’-उनले भने-‘मन्त्रीहरूसँग समन्वय गरेर हेलिकप्टर मार्फत राहत लैजान्छौँ ।’
उनले जोखिममा भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको भएपनि अब खानपानमा समस्या हुने तर्फसचेत भएको बताए ।
अविरल वर्षाले उद्दारमा समस्या
साउन ७ गते साँझबाट पुन सुरू भएको वर्षाले पहिरो प्रभावित क्षेत्रमा उद्धारमा समस्या थपिएको छ । वर्षात् नरोकिएका कारण बेपत्ता भएकाहरूको खोजी कार्य अगाडि बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक बस्नेतले बताए ।

सत्यवति गाउँपालिका-४ लिम्घामा सात वर्षीया तारा बिक र डेढ वर्षीय सुमन बिक अझै बेपत्ता छन् भने वडा नं ३ ठुलोलुम्पेकमा माया बिक र बवि बिक पहिरोमा हराइरहेका सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताए ।
उनले रातभर ठूलो पानी परिरहेकाले उद्धार गर्ने कुनै उपाय नभएको बताए । पहिरोमा पुरिएर अहिलेसम्म दुई ठाउँमा गरी नौ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।