सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोशी राजमार्गको मकालु गाउँपालिकाको नयाँबस्तीमा सडक अवरूद्घ भएपछि भोटखोलामा खाद्यान्न अभाव भएको छ ।
सदरमुकाम खाँदबारीदेखि १ सय ६२ किलोमिटर उत्तरी क्षेत्रमा रहेको भोटखोला गाउँपालिकामा एक महिनादेखि खाद्यान्न ढुवानी हुन नसक्दा अभाव भएको हो ।
असार २ गते आएको वर्षाले मकालु गाँउपालिकाको फ्याक्सिन्दा र नयाँबस्तीमा पहिरो खसेपछि कोशी ल्हासा राजमार्ग अवरूद्घ छ ।
महिनादिन बित्दा समेत सडक नखुलेपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको भोटखोला-२ च्याम्ताङका वाङछिरिङ भोटेले बताए ।
उनले भने-‘गोला बजारमा सधैँ यातायात सञ्चालन भइरहने हुनाले उनीहरूले खाद्यान्नको जोहो गरेका थिएनन् । तर, एक महिनादेखि पहिरोले बाटो अवरूद्घ भएपछि खाद्यान्न सङ्कट पर्न थालेको छ ।’
खाद्य डिपोमा न कर्मचारी छन् न चामल !
भोटखोला गाउँपालिकामा रहेको खाद्य डिपो गाउँपालिकाको केन्द्र हटियामा रहेको छ । यो डिपोमा न त कर्मचारी बस्छन् न त चामल नै छ ।
भोटखोला क्षेत्रमा खाद्यान्न सहज रूपमा पुर्याउने भनेर स्थापना भएको खाद्य डिपो वर्षौँदेखि अलपत्र छ । भोटखोलाको लागि ५ सय क्वीन्टल चामलको कोटा थियो ।
यसैअनुसार गएको पुस महिनामा नै ठेकेदारद्वारा ढुवानी गरेर वितरण गरिएको खाद्य संस्थान खाँदबारीका निमित्त प्रमुख धर्मदेवप्रसाद यादवले बताए ।
कर्मचारी अभावका कारण ठेकेदारमार्फत खाद्य डिपोमा भएको चामल यस अघि नै वितरण गरिसकिएको उनले बताए । खाद्य संस्थानका कार्यालय प्रमुख र कार्यालय सहयोगी सदरमुकाम खाँदबारीमा बस्ने गरेका छन् ।
यो क्षेत्रमा खाद्यान्नको सहज आपूर्ति गर्नका लागि र अवरूद्घ सडक खुलाउन समन्वय भइरहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताए ।
उनले सम्बन्धित निकायहरूसँग पटक-पटक छलफल भइरहेकले छिट्टै नै अवरूद्घ सडक सञ्चालनमा ल्याउने बताए ।
भोटखोला क्षेत्रमा दैनिक उपभोग्य वस्तुका साथै औषधिको अभाव देखिएपछि नागरिकहरू खाद्य अधिकार र उपभोक्ता अधिकारबाट वञ्चित भएका छन् ।