INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीका कारण सुत्केरी र गर्भवती समस्यामा

गत असार २६ गते खोला गाउँ पसेपछि चार महिनाको दूधे बालक च्यापेर घरबाट निस्किएकी बेलका नगरपालिका–१ पलारकी रोजी नेवार यतिबेला सुखनी आधारभूत विद्यालय सप्तरीमा आश्रय लिएर बस्दै आएकी छिन् ।

 

आधा किलोमिटर टाढा रहेको त्रियुगा खोला गाउँ पसेपछि उनलाई स्थानीयले उद्दार गरी घरबाट निकालेका थिए ।

 

‘१० मिनेट मात्र ढिला भएको भए भेलले सपरिवार डुबिने रहेछ ।’–उनले भनिन्–‘बाँच्ने दिन रहेछ र छिमेकीले उद्दार गरिदिए ।’

 

दूधे बालक च्यापेर मलिन अनुहारमा घटनाक्रम सुनाउँदै उनले भनिन्–‘सोच्दै नसोचेको भयो । घर पुरै लग्यो अब कहाँ बस्नु ?, के खानु ?, नानीको स्यहारसुसार कसरी गर्नु ? आफ्नो ज्यान कसरी सुरक्षित गर्ने भन्ने मात्र चिन्ता भयो, अन्नपात, लत्ताककपडा झिक्न पाइएन । लगाएको धान खेती बगरमा परिणत भयो । बाँकी दिन कसरी बिताउने होला ?’

 

आफूभन्दा पनि दूधे बालकको चिन्ता लागेको उनको भनाई छ । ‘स्कुलको बसाई छ । न शुद्घ पिउने पानी छ । न राम्रो शौचालय नै ! न खाने कुरा नै राम्रो खान पाइन्छ । कसरी बच्चालाई जोगाउनु ?’–उनले भनिन् ।

 

‘एकातर्फ बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ता छ । अर्कोतर्फ प्रकोप र सर्पबाट कसरी जोगिने भन्ने चिन्ता छ ।’–उनले भनिन्–‘त्यसैपनि गर्मी ठाउँ सर्पको बिगबिगी झन् खोलाले बगाएर ल्याएका सर्प छ्यापछ्याप्ती भेटिन्छन् ।

 

त्यसो त रोजीको मात्र यो समस्या हैन । बेलका नगरपालिका–१ र २ का ६० जना भन्दा बढी सुत्केरी तथा गर्भवती महिलाको समस्या उस्तै छ । भएको अन्नपात त्रियुगा खोलाले डुबाएपछि स्थानीय विद्यालय र आफन्तकोमा आश्रय लिएर बस्न बाध्य छन् ।

 

५ महिनाको छोरी लिएर रमा अधिकारी, ३ महिनाका छोरो च्यापेर सीता श्रेष्ठ, एक वर्षीय छोरी बोकेर शोभा अधिकारी, तुलसी श्रेष्ठ लगायतका सुत्केरी महिला सोही विद्यालयको कोठामा बस्छन् ।

 

उनीहरुलाई तत्काल उद्दार गरी सार्वजानिक संरचनामा स्थान्तरण गरिएको बेलका नपाका मेयर दुर्गाकुमार थापाले बताए ।

 

उनले विभिन्न निकायको सहयोगमा केही राहत वितरण गरिएको बताए । अन्य सर्वसाधरण भन्दा पनि यो समयमा सुत्केरी महिला थप पीडामा हुने भएकाले संरक्षणका लागि स्थानीय जनप्रतिनिधि, केन्द्र, प्रदेशसँग कुरा भइरहेको अनुगमनमा पुगेका जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए ।

 

उनले भने–‘सुत्केरी अवस्था आफैँमा सम्वेदनशील समय हो । त्यसमा साना नानीबाबु हुँदा समस्या अझ गम्भीर छ ।’

 

उनले प्राकृतिक प्रकोपले पारेको समस्या समाधानका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्य

भिडियो