INSEC Online

📅 २०८३ जेष्ठ २१

छुट लगत लिन सरकारले चासो नदिएको मुक्त कमैयाहरूको गुनासो

कमैया मुक्तिको २० औँ वर्षगाँठको अवसरमा साउन २ गते मुक्त कमैयाहरूले लमहीमा मुक्ति दिवस मनाउने क्रममा मुक्त कमैयाहरूको छुट लगत लिन सरकारले चासो नदिएको गुनासो गरेका छन् ।

मुक्त कमैयाहरूको छुट लगत लिन सरकारले चासो नदिएको भन्दै लगत लिएर आवश्यक सेवा सुविधा प्रदान गर्न माग गरेका छन् ।

मुक्त कमैया परिचयपत्र पाएकाहरूले पनि उचित सुविधा नपाएको भन्दै आम नागरिकसरह व्यवहार गर्न सरकारलाई आग्रह गरेका थिए ।

दाङमा कुल १ हजार ४ सय २४ जना मुक्त कमैयाले परिचयपत्र प्राप्त गरेका छन् भने ती मध्ये ६ सय ८८ जनाले जग्गाको लालपुर्जा पाएका छन् ।

लालपुर्जा पाए पनि १७ जनाले लालपुर्जा अनुसारको जग्गा भेटाएका छैनन् । मुक्त कमैया समाज दाङका अनुसार दाङमा ५ हजार ४६ जना मुक्त कमैया रहेका छन् ।

मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीले छुट भएका कमैयाहरुको लगत लिन र परिचय पत्र दिएर आवश्यक सेवा उपलब्ध गराउनु पर्ने बताए ।

दाङमा ३ हजार ३ सय मुक्त कमैया महिला रहेको र उनीहरूको पुनस्र्थापना तथा कमैया महिलाहरूको विशिष्ट खालका समस्या सम्बोधन गर्न माग गरेको मुक्त कमैया महिला जागरण समाज दाङकी अध्यक्ष कमलापति चौधरीले बताइन् ।

कार्यक्रममा वक्ताहरूले भूमिहीनलाई भूमिको स्वामित्व हस्तान्तरण गर्न कानुन बलियो बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले मुक्त कमैया, सुकुम्बासीहरूको पुनस्र्थापना र व्यवस्थापनको काम सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधि सभा सदस्य गङ्गा थारूले  कमैया, सुकुम्बासीहरूको समस्या समाधान सरकारले गर्ने प्रतिवद्धता जनाइन् ।

अन्य

भिडियो