इन्सेकको सहयोगमा शुद्धोधन गाँउपालिका–६ की ४५ वर्षीया समुन्री चाई र उनकी २५ वर्षीया बुहारी रिता चाईले असार २ गते जिल्ला अदातलमा मुद्दा दर्ता गराएकी छन् ।
शुद्धोधन गाँउपालिका–६ का ३६ वर्षीय केश्वर यादव, ३४ वर्षीय सुवाशचन्द्र चौधरी, ४० वर्षीय कमलावती कुर्मी, २५ वर्षीया अर्चना कुर्मीले जग्गाको विषयलाई लिएर कुटपिट तथा दुर्व्यवहार गरेको घटनामा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि कारवाही प्रक्रियामा नगएको भन्दै साउन १ गते इन्सेक जिल्ला प्रतिनिधि र अन्तरपार्टी महिला सञ्जाललाई निवेदन मार्फत पीडित पक्षले आग्रह गरेको थियो ।
इन्सेकलगायत अधिकारकर्मीको पहलमा पीडितलाई नेपाल बार एशोसिएशनले निशुल्क कानुनी सेवा अन्तर्गत जिल्ला अदालतमा कुटपिट तथा दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको हो ।
पीडित महिलाले जोतभोग गर्दै आएको जग्गामा खेती गर्ने क्रममा आरोपितहरूले असार ८ गते कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार ९ गते उजुरी दिएका थिए ।
घटनामा संलग्नहरूलाई कारवाही भएपछि असार १५ गते प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई भेटेर न्यायका लागि ज्ञापनपत्र समेत बुझाएका थिए ।
महिना दिनसम्म पटकपटक प्रशासन कार्यालय, प्रहरी कार्यालयमा जाँदा समेत कुनै सुनवाइ नभएको पीडित समुन्रीले बताइन् ।
उनले विभिन्न सङ्घ संस्थामा न्यायको लागि आग्रह गर्दा सुनुवाइ नभएपछि बाध्य भएर अदालत जानु परेको बताइन् ।