INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्थिङ सेन्टर नहुँदा सुत्केरी सेवा लिन अर्को जिल्ला पुग्नुपर्छ

कुमाख गाउँपालिका-१ स्वीकोटमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने महिलालाई समस्या हुने गरेको छ ।

सो गाउँपालिकाका गर्भवती महिलालाई सुरक्षित रूपले सुत्केरी गराउनका लागि स्टेचरमा बोकेर छिमेकी जिल्ला रुकुम जानुपर्ने बाध्यता रहेको छ ।

‘यहाँ रहेको स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा नभएकाले गर्भवती महिलालाई सुत्केरी गराउन चार/पाँच घण्टा बोकेर छिमेकी जिल्ला पुर्‍याउने गरेका छौँ ।’-स्थानीय कलसी बिकले भनिन्,-‘यस्तो अवस्थामा गर्भवती महिलाहरूलाई ज्यानको अत्यन्तै जोखिम हुन्छ ।’

उनले गर्भवती भएको समयमा आमा र बच्चा दुवैलाई समयमै स्वास्थ संस्थामा पुर्‍याउन नसके खतरा हुने गरेको बताउँदै गाउँपालिकामा बर्थिङ सेन्टरको खाँचो रहेको बताइन् ।

सो गाउँपालिकाकी एक गर्भवतीलाइ गतवर्षमात्रै रुकुमको चौरजहारीमा रहेको स्वास्थ संस्थामा बोकेर लैजाँदै गर्दा बाटोमा नै बच्चा जन्मिएपछि बाटौमै नवजात शिशुको ज्यान गएको र आमाको स्वास्थ्यमा पनि समस्या देखिएको बिकले बताइन् ।

सो गाउँपालिकाका दुईओटा वडामा तीनओटा स्वास्थ्य केन्द्र रहको भएपनि कुनैपनि स्थानमा बर्थिङ सेन्टर नहुँदा सुरक्षित सुत्केरी गराउन समस्यामा पर्ने गरेको हो ।

गाउँपालिकासँगै बर्थिङ सेन्टरको माग गरेपनि अहिलेसम्म मागको सम्बोधन नभएको स्थानीयको गुनासो छ ।

वडा नम्बर १ का अध्यक्ष गोपालबहादुर बुढाथोकी वडाका महिलाले सुरक्षित रूपले सुत्केरी सेवा नपाएकोमा दुखः लागेको बताउँछन् ।

उपचारका लागि स्वास्थ्य संस्था भएपनि व्यवस्थित नहुनु दुखद् भएको भन्दै उनले आगामी वर्षमा यस विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

उनले कुमाखका अन्य स्थानमा रहेका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर रहेको तर स्वीकोटमा बर्थिङ सेन्टर नहुँदा धेरै समस्या हुने भएकोले यस विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउने जानकारी दिए ।

कुमाख गाउँपालिका स्वास्थ्य संयोजक मानसिङ वलीले गाउँपालिकामा यो कुरा विभिन्न समयमा उठेको भन्दै सबैभन्दा पहिला भौतिक पुर्वाधार निर्माण हुनुपर्ने बताए ।

गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढाले यस क्षेत्रलाई पायक पर्ने ठाउँमा बर्थिंङ सेन्टर स्थापना गर्न उपयुक्त भवन नभएकोले समस्या रहिरहेको बताइन् ।

उनले सुरक्षित सुत्केरी गराउनका लागि दुईजना कर्मचारीहरू रहेपनि भवनको अभावका कारण सेवा प्रदान गर्न नसकेको बताइन् ।

‘आगामी वर्षदेखि सुत्केरी हुन अर्को जिल्लाको कुरा त परै जाओस् जिल्ला अस्पताल पनि जानु पर्दैन ।’-उनले भनिन्-‘हामीले त्यही अनुसार योजना बनाएका काम अगाडि बढाउने छौँ ।’

अन्य

भिडियो