INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारविरूद्ध अपराधजन्य दण्डहीनता बढ्दै गएकोप्रति सरोकारवालाद्वारा चिन्ता व्यक्त

सरोकारवालाहरूले देशमा व्याप्त दण्डहीनताको कारण पत्रकारमाथि भौतिक तथा पेशगात असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पत्रकारविरूद्ध हुने अपराधजन्य अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा कात्तिक २४ गते काठमाडौँमा आयोजना गरिएको ‘नेपालमा पत्रकार सुरक्षाः युनेस्कोको पत्रकार सुरक्षा सूचकका दृष्टिबिन्दुबाट विश्लेषण’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै सरोकारवालाहरू सो चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले मानव अधिकारको कुनै जात, धर्म र रङ्ग नहुने भन्दै कुनै पनि राजनीतिक दलको नाममा दण्डहीनता दिने कार्यमा संलग्न कसैलाई पनि छुट दिन नमिल्ने बताइन् । उनले पत्रकार स्वयम्ले पनि आफ्नो कर्तव्य, अधिकार र आचारणप्रति सजग रहन आवश्यक रहेको भन्दै मानव अधिकार अयोगले पत्रकारको असुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको बताइन् ।

उनले भौतिक तथा पेशागत असुरक्षा, सामाजिक पहिचानको अभाव र आर्थिक अभाव पत्रकारहरूको समस्या रहेको बताउँदै उनीहरूको समस्या समाधान गर्न राज्यले संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय मापदण्डको कार्यान्वयनमा जोड दिइन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले गएको एक वर्षमा १ सय ३९ जना पत्रकारमाथि आक्रमण भएको बताए । उनले तराई क्षेत्रमा मात्रै १ सय १९ जना पत्रकारमाथि आक्रमण भएको बताउँदै राज्यले घटनाको खोज, अनुसन्धान नगर्दा उपचारको हक खोज्न जटिल भएको बताए । अध्यक्ष विष्टले नयाँ संविधानमा पत्रकारिताको विकासका लागि राम्रा व्यवस्थाहरू गरिएपनि त्यसको कार्यान्वयन हुन नसक्नुले उक्त व्यवस्थाहरू कागजमा मात्रै सीमित हुन पुगेको बताए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले पत्रकारिताको सवलीकरण र विकासका लागि पत्रकारमाथि हुने असुरक्षाको मुख्य कारण पत्ता लगाई समस्या समाधानतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए ।

बरिष्ठ पत्रकार किशोर श्रेष्ठले अपराध जसले गरेपनि कानुनतः त्यसलाई दण्डित गरिनुपर्ने भन्दै पत्रकारिकता जस्तो संवेदनशील पेशामा पेशागत शुद्धता र आचारणप्रति उत्तरदायी भई समाचार प्रकाशन, प्रसारण गरिए ८० प्रतिशत समस्याको समाधान हुने बताए । उनले कुनै पनि पत्रकारले समाचार लेखेकै भरमा अनाहक ज्यान गुमाउनुपर्ने स्थितिलाई सम्बन्धित पक्षले गम्भीरताका साथ लिनुपर्ने बताए ।

कार्यक्रममा विमोचित पुस्तकमा नेपालमा पत्रकारको सुरक्षा र दण्डहीनताको अवस्थाबारे अद्याविक अध्ययन प्रस्तुत गरिएको छ । युनेस्कोको पत्रकार सुरक्षा सूचकहरूको आधारमा गरिएको अनुसन्धानले हालैका वर्षहरूमा पत्रकारविरूद्ध हुने हिंसा तथा धम्कीका घटनामा कमी आएको कुरा पुस्तकमा उल्लेख छ ।

प्रकाशित पुस्तकमा उल्लेख गरिए अनुसार २०१५ मा एक जना मात्रै पत्रकारको हत्या गरिएको उल्लेख छ । तर, सङ्क्रमणकालीन राजनीतिले पत्रकारहरूको सुरक्षाको अवस्थालाई चुनौतिपूर्ण बनाएको अनुसन्धानले देखाएको छ ।

अन्य

भिडियो