INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मीको अभाव भएपछि तालिम नलिएका पुरुष स्वाथ्यकर्मीद्वारा प्रसूति सेवा प्रदान

बुढिन्नदा नगरपालिका–९ की ३६ वर्षीया लालमती सार्कीलाई प्रसूति सेवा लिन आफन्तले पाण्डुसेन स्वास्थ्य चौकीमा लगियो ।

तर, त्यहाँ उनलाई महिला स्वास्थ्यकर्मी नभई पुरुष स्वास्थ्यकर्मीले प्रसूति सेवा दिए । लालमतिले पुरुष स्वास्थ्यकर्मीको सहयोगले बच्चा जन्माइन् ।

पाण्डुसेन स्वास्थ्य चौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक नृपराज गिरीले सेवा दिँदै आएका छन् । उनले लालमति सार्की मात्र नभई अरूलाई पनि सुत्केरी सेवा दिँदै आएका छन् ।

असार २२ गते बुढिन्नदा नगरपालिका–९ बस्ने २१ वर्षीया गिता सार्कीलाई सुत्केरी सेवा लिन स्वास्थ्य चौकी पुयाए ।

उनलाई पनि नृपराज गिरीले नै सेवा दिएका थिए । लाज मानी मानी सेवा लिनु परेको गिता सार्कीले बताइन् ।

‘पाण्डुसेन स्वास्थ्य चौकीमा प्रसूति सेवा छ । महिला स्वास्थ्यकर्मी कोही छैनन् । बाध्यताले सेवा दिइरहेको छु ।’–नृपराज गिरीले भने ।

प्रसूति सेवासम्बन्धी तालिम नलिएको भएपनि मानवीय भावनाका कारण सेवा दिँदै आएको उनको भनाई छ ।

त्यति मात्र नभई अहिले स्वास्थ्य चौकीमा कार्यलय सहयोगीदेखि बिरामी चेकजाँच र प्रशासनको काम एक्लैले गर्दै आएको उनले बताए ।

स्वास्थ्य चौकीमा एकजना एचए, दुई जना अहेब, दुईजना अनमी र एकजना कार्यलय सहयोगीको दरबन्दी रहेको छ ।

एक जना दरबन्दीमा कार्यरत अनमी मधु श्रेष्ठ विदामा छन् । कार्यलय सहयोगी पृथ्बीबहादर सिंह समायोजनमा अर्कै ठाँउमा परेपछि एक जनाको भरमा स्वास्थ्य चौकी सञ्चालनमा आएको हो ।

दैनिक ४०÷५० जना बिरामी आउँछन् । उपचार गर्नै प¥यो । अफिसको अन्य व्यवस्थापान गर्नु प¥यो । काममा निकै समस्या भएको छ ।’–गिरीले भने ।

नगरपालिकाले करारमा राखेकी अनमी अमृता कार्कीलाई वडा नम्बर ८ मा पठाएको छ । नगरपालिकामा कर्मचारी अभाव रहेको जानकारी गराइएको भएपनि कतैबाट सहयोग नभएको उनको भनाई छ ।

पाण्डुसेन स्वास्थ्य चौकीमा सुत्केरी गराए बापतको न्यानो झोला र सुत्केरी भत्ता गत चैतदेखि कसैले पाएका छैनन् । त्यसयता ३० जना सुत्केरी भएका छन् ।

अन्य

भिडियो