INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह गराएको कसुरमा एक-एक हजार रुपियाँ जरिवाना

१५ वर्षीय बालक र १५ वर्षीया बालिकाको विवाह गराएको कसूरमा जिल्ला अदालत, दैलेखले असार १८ गते बालककी ३५ वर्षीया ठूली आमा र १९ वर्षीया दिदीलाई लाई १-१ हजार रूपियाँ जरिवाना तोकेको छ ।

न्यायाधीश सनतचन्द्र लवटको इजलासले पीडित बालिकालाई पीडक पक्षले ३५ हजार रूपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७३ को उपदफा ३ बमोजिम बालविवाह गराइदिनेहहरूलाई सो सजाय भएको हो ।

०७५ साउन १ गते ती बालबालिकाको विवाह गराइदिएको भन्दै पीडित पक्षले साउन ९ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएको थियो ।

उजुरीका आधारमा आरोपितद्वयलाई सोही दिन प्रहरीले गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ३१ गते दैलेख जिल्ला अदालतमा बालविवाहसम्बन्धी मुद्दा दर्ता गराइएको थियो ।

जिल्ला अदालतले सोही दिन घटनाका आरोपित अभिभावकद्वयलाई २ हजार रूपियाँ धरौटी र बालबालिकाहरूलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

पीडित बालबालिकाले गरेको कसूरको प्रकृति र परिस्थितिलाई समेत हेरी कानुन अनुसार सजाय तोक्ने तर हाललाई कैद बस्नु नपर्ने गरी सजाय स्थगन गर्न सक्ने बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ को उपदफा (५)मा भएको व्यवस्था अनुसार बालविवाह गर्ने जोडीको सजाय स्थगन गरिएको जिल्ला अदालत, दैलेखले जनाएको छ ।

अन्य

भिडियो