हुम्लाको खार्पुनाथ गाउँपालिका–५ ताक्लामा रहेको बागेश्वरी आधारभुत विद्यालयमा सकेट बम भेटिएको छ ।
असार १८ गते बिहान विद्यालयको खेलमैदान मर्मत गर्ने क्रममा स्थानीयले सो बम भेटाएको विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाहीले बताए ।
दोजाम प्रहरी चौकीका असई सिन्तामोणी पोखरेलको टोली त्यस क्षेत्रमा पुगी अनुसन्धान गर्दा पुराना दुई ओटा सकेट बम भेटिएको जिल्ला प्रहरी कार्यालय, हुम्लाका इन्स्पेक्टर राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
प्रहरीले सकेट बम भएको पुष्टी गरिसकेपछि निष्क्रिय पार्न नेपाली सेनाको टोली पठाइसकेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए ।
सकेट बम भेटिएको क्षेत्रमा स्थानीयलाई आवतजावतमा रोक लगाएर सुरक्षा व्यवस्था कडा गरिएको इन्स्पेक्टर सिंहले बताए ।
बम द्वन्द्वकालमा लुकाएर राखिएको हुन सक्ने इन्स्पेक्टर सिंहले बताए । सो विद्यालय सदरमुकाम सिमकोटबाट करिब तीन घण्टा पैदल दुरी टाढा रहेको छ ।