जिल्ला कारागार गुलरियामा थुनामा रहेका भारत मोतिपुरथाना नानपारा ग्राम, सलारपुरका २५ वर्षीय राहुल राजभारको असार १७ गते उपचारको क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको कारगार प्रशासनले जनाएको छ ।
राहुललाई असार १६ गते स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्यकर्मीले कारागारमा चेक जाँच गरी थप उपचारको लागि जिल्ला अस्पताल गुलरियामा पठाएको थियो ।
जिल्ला अस्पतालमा उपचारपछि कारागार फर्किएका उनलाई पुनःसमस्या देखिएपछि जिल्ला अस्पताल लगिएकामा जिल्ला अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो ।
डाक्टरले भेरी अञ्चल अस्पतालमा पनि उपचार सम्भव नहुने जनाएपछि सुविधा सम्पन्न अस्पतालमा रिफरको प्रक्रिया मिलाउदै गर्दा मृत्यु भएको जिल्ला कारागार गुलरियाका निमित्त जेलर डिल्लीचन्द्र पौडेलले बताए । राहुलको मृत्यु हृदयघातको कारण भएको डाक्टरले जानकारी दिएको पनि पौडेलले बताए ।
राहुलसहित तीन जनालाई डाँका मुद्दामा बर्दिया जिल्ला अदालतले असार ४ गते पुर्पक्षका लागि कारागार पठाएको थियो ।
स्वाथ्य समस्या देखिनेबित्तिकै उपचारको लागि अस्पताल लगिएको चौकीदार प्रेम सोडारीले बताए । मृतकको शव नेपालगञ्ज मेडिकल कलेजको शव गृहमा राखिएको र आफन्त आएपछि पोष्टमार्टम गरिने जेलर डिल्लीचन्द्र पौडेलले बताए ।
जिल्ला कारागार गुलरियामा क्षमता भन्दा दोब्बर कैदीबन्दी रहेका छन् । १ सय २५ जनाको क्षमता रहेकोमा भए पनि अहिले २ सय ७१ जना रहेका छन् ।
थुनुवा कैदीहरूलाई ठाउँ सानो भएका कारण सुत्न समस्या भएको छ । त्यसैगरी शौचालय जानकालागि पालो कुर्नुपर्ने अवस्था रहेको छ ।
अत्याधिक गर्मीका कारणले कैदी बन्दीहरू बिरामी हुने सख्या बढेको चौकीदार प्रेम सोडारीले गुनासो गरे । बिरामी भएका थुनुवा कैदीलाई नेपालगञ्ज लगेर उपचार गराइरहेको जेलर पौडेलले बताए ।