INSEC Online

📅 २०८३ जेष्ठ २१

नियन्त्रणमा लिएर प्रहरीले कुटपिट गरेको निर्माण व्यवसायीको आरोप

खत्याड गाउँपालिका माथीचौरमा रहेको एक काष्ठ उद्योगमा मजदुरी गर्ने खत्याड गाउँपालिका-९ का ३० वर्षीय टक्क भण्डारी र सोही गाउँपालिका-४ का २९ वर्षीय तिलक रोकायालाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पीडितद्वयलाई असार १६ गते राति ८ बजे माथिचौरको अस्थाई प्रहरी चौकीमा कार्यरत प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

खत्याड गाउँपालिका-४ माथिचौरमा रहेको उद्योगमामा मजदुरी काम गर्दै आएका पीडितद्वय उद्योगको काम सकेर साँझ ६ बजे आफ्नै कोठामा मदिरा सेवन गरिसकेपछि चुरोट ल्याउन अर्को पसलमा जाँदा प्रहरीले नियन्त्रणमा लिएको पीडितले बताए ।

चुरोट किन्ने क्रममा साथीसँग सामान्य विवाद भएपछि प्रहरीले राति ८ बजे आफूलाई नियन्त्रणमा लिई चौकीभित्र लाठी, बुट र मुक्काले मरणासन्न हुने गरी कुटपिट गरेको भण्डारीले बताए ।

रोकायालाई भने १७ गते बिहान नियन्त्रणमा लिई आफूलाई झैँ कुटपिट गरेको पीडित टक्क भण्डारीको भनाई छ ।

खत्याड गाउँपालिकाले सबै वडालाई मदिरा निषेधित गरेको छ । सेवन गर्ने र विक्री वितरण गर्नेलाई गाउँपालिकाले ४ हजार रुपियाँ जरिवाना समेत तोकेको छ ।

मदिरा सेवन गर्नेलाई गिरफ्तार गरेपनि कुटपिट गर्न नमिल्ने, जरिवाना मात्रै तिराएर छोड्नुपर्ने खत्याड गाउँपालिका-७ का वडा सदस्य अनन्तराज घोडासैनीले बताए ।

मदिरा सेवन गरेकै आरोपमा टक्क भण्डारीलाई असार १६ गते राति ८ बजे नियन्त्रणमा लिई २४ घण्टासम्म प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

प्रहरीले दुवैजनालाई कुटपिट गरेर घाइते अवस्थामा जनही ४ हजार रुपियाँ तिर्ने काजपत्र गराएको पीडित भण्डारीले बताए ।

प्रहरीको कुटाइले घाइते भएपनि खर्च अभावका कारण अहिलेसम्म उपचार नगरी घरमै बसिरहेको पीडितले बताए ।

अन्य

भिडियो