एक महिनाअघि सडकमा बेहोसी अवस्थामा फेला परेका मानसिक रोगी मोरङ उमनपा–४ घर बताउने करिब ५० वर्षीय दिलकुमार लिम्बुलाई उपचार तथा स्याहारका लागि असार १३ गते मकवानपुरको हेटौँडास्थित मानव सेवा आश्रम पठाइएको छ ।
शारीरिक अवस्थामा सुधार आएको भन्दै अस्पतालले जेठ २५ गते डिस्चार्ज गरेपछि अलपत्र परेका लिम्बुलाई इन्सेकको पहलमा अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले हेटौँडास्थित मानव सेवा आश्रम पठाएको हो ।
उपचारपश्चात परिवारमा पुनर्मिलन वा समुदायमा पुनर्स्थापना गर्न सहयोग र समन्वय गर्ने प्रतिबद्धतासहित हाललाई संरक्षण तथा उपचार गर्न लिम्बुलाई ओसिएमसीले यातायात र बाटो खर्च दिई मानव सेवा आश्रम हेटौँडा पठाएको ओसिएमसीकी फोकल पर्सन मनिषा सिम्खडाले बताइन् ।
सप्तकोशी नपा–४ स्थित फत्तेपुरको बलार्दह चौक नजिकबाट जेठ ९ गते फेला परेका लिम्बुलाई प्रहरी र स्थानीयवासीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको थियो ।
उनको शारीरिक अवस्थामा सुधार आएपनि आफन्त कोही सम्पर्कमा नआउँदा जाने ठाउँ नभएर अलपत्र परेका मानसिक रोगी लिम्बुको पुनस्र्थापनाका लागि इन्सेक सप्तरीले पहल गरेको थियो ।
अस्पतालबाट डिस्चार्च भएपछि शैयाबाट हटाइका उनी आकस्मिक कक्षको मुल ढोकाको भुईमा सुत्ने गरेका थिए ।
मानसिक उपचार गर्ने अस्पताल नभएकाले शारीरिक स्वास्थ्य उपचार पछि बेवारिसे व्यक्तिहरुलाई कहाँ पठाउने भन्ने समस्या आउने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका डा. रणजितकुमार झा बताउँछन् ।
यसैगरी अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ बाट गत फागुन ९ गते हात्तीको आक्रमणमा परेर घाइते अवस्थामा फेला परेकी बेवारिस एक महिलालाई पनि थप उपचार र स्याहारका लागि अन्यत्र पठाउने इन्सेकले पहल गरिरहेको छ । उनी पनि सोही अस्पतालको अन्तरङ्ग विभागमा अलपत्र परेकी छिन् ।
‘बेवारिसे अवस्थामा फेला परेकी महिला स्वास्थ्य र सामाजिक सुरक्षाबाट वञ्चित’ शीर्षकको समाचार चैत २० गते इन्सेक अनलाइनमा प्रकाशन भएपछि इन्सेक सप्तरीकै पहलमा उनको उपचार र स्याहार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो ।
नाम, ठेगाना, उमेर बताउन नसक्ने बेवारिस महिलालाई असार ३ गते उद्धारका साथै पुनर्स्थापनाका लागि भक्तपुरस्थित आफ्नो घर आश्रम पठाइए पनि राख्ने ठाउँ नभएको भन्दै फर्काएपछि असार ४ गते राजविराजस्थित अस्पतालमै भर्ना गरिएको थियो ।
इन्सेक अनलाइनमा असार ४ गते ‘उद्धार गरिएकी मानसिक बिरामीले आश्रयस्थलमा आश्रय पाइनन्’ समाचार प्रकाशित छ ।