नरहरीनाथ गाउँपालिका-३ कुमालगाउँस्थित गाउँपालिकाको कार्यालयमा असार १० गते राति एक बजे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेका छन् ।
गाउँपालिकामा आएको एक समूहले गाउँपालिका कार्यालय र उक्त गाउँपालिकामा रहेका दुई ओटा वडा कार्यालयका कागजात पनि जलाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले सो पार्टीका कार्यकर्ताले नरहरीनाथ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको झ्याल फोरेर पेट्रोल खन्याई आगो लगाएको जानकारी दिए ।
उनका अनुसार आगलागी भएको जानकारी भएपछि इलाका प्रहरी कार्यालय र स्थानीय नागरिकले आगो नियन्त्रणमा लिएका थिए ।
आगजनीबाट गाँउपालिकाको भौतिक संरचना र अभिलेख नष्ट भएको छ । डिएसपी शर्माका अनुसार सोही गाउँपालिका-६ माल्कोटको वडा कार्यालयका कागजात पनि उक्त समूहले जलाएको छ ।
वडा नम्वर ५ रुप्सामा रहेको वडा कार्यालयका कागजात पनि सो पार्टीका कार्यकर्ताले जलाएका छन् । दुवै वडा कार्यालय स्थानीय नागरिकको घरमा भाडामा भएकाले भवन नजलाई कार्यालयमा भएका कागजातलाई खुला ठाउँमा ल्याएर जलाएका थिए ।
नरहरीनाथ गाँउपालिका उपाध्यक्ष मनशोभा बुढाले भौतिक संरचनाको अभावमा सेवा प्रवाह गर्न समस्या भइरहेका बेला साविकको गाविसको सामान्य भवन पनि जलाएपछि सेवा प्रवाह गर्न थप समस्या भएको बताइन् ।
आगलागीको घटनामा संलग्नको खोजी गर्न जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी इन्स्पेक्टर देवेन्द्रकुमार मल्लको नेतृत्वको टोलीले नरहरीनाथमा अप्रेशन सुरू गरेको डिएसपी शर्माले जानकारी दिएका छन् ।
असार १० गते पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन गाउँपालिकाले गाउँसभा चलाएकाले आगो लगाएको विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडीले प्रतिक्रिया दिए ।