INSEC Online

📅 २०८३ जेष्ठ २१

उद्दार गरिएका बालबालिका इन्सेककर्मीको रोहवरमा परिवारको जिम्मा

काठमाडौँमा अवैध बालगृह सञ्चालन गरेर राखिएका कालिकोटका आठ जना बालबालिकालाई इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको रोहवरमा असार ६ गते जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत अभिभावकको जिम्मा लगाइएको छ । केन्द्रीय बालकल्याण समिति र महानगरीय प्रहरी उद्दार गरेर अभिभावक जिम्मा लगाइएको हो ।

बालबालिकालाई घरसम्म पुनस्र्थापनाका लागि साझा सवालका लागि साझा मञ्चले कालिकोटमा ल्याएर अभिभावकको जिम्मा लगाएको बालबालिकाहरूमा पलाँता गाउँपालिका–९ का १२ वर्षीय जत्ति बिक, सोही ठाउँकाका नौ वर्षीया सञ्जु बिक, ११ वर्षीया निर्मल नेपाली, १३ वर्षीय विकास बिक रहेका छन् ।

यस्तै पचालझरना गाउँपालिकाका सात वर्षीया पवित्र बिक, तिलागुफा नगरपालिका–४ का १२ वर्षीय दिनेश बिक सोही ठाउँका ११ वर्षीय बसन्त बिक, नौ वर्षीया रेखा बिक रहेका छन् ।

काठमाडौँमा अवैध होस्टेल चलाएर राखिएका बालबालिकाहरूलाई केन्द्रीय बालकल्याण समिति र प्रहरी उद्दार गरेर साझा सवालका लागि साझा मञ्चलाई पुनस्र्थापनाका लागि जिम्मा लगाएको मञ्चका सल्लाहकार कमल कोइरालाले बताए ।

‘हामीले एक महिना लगाएर परिवारको खोजी ग¥यौँ ।’–उनले भने–‘अहिले हामीले परिवारका नै पुनस्र्थापना गरेका छौँ ।’

काठमाडौँ बुढानिलकण्ठ विद्यालयमा १० वर्षसम्म राम्रो पढाइदिने भन्दै जिल्लाकै तिलागुफा नगरपालिका चिल्खायाका जयबहादुर बिकले प्रति अभिभावक २/२ लाख रुपियाँ उठाएर बच्चा लगेको अभिभावकले आरोप लगाएका छन् ।

काठमाडौँ गएपछि एउटा होस्टेलमा राखिएको त्यहाँ खानबस्न पढ्नको समेत समस्या भएको पलाँता गाउँपालिका–९ का १२ वर्षीया जत्ति बिकले बताए । ‘हामी कहिले खान नै पाउदैनथ्यौं ।’ उनले भने,‘घरमा फोन सम्पर्क समेत गर्न दिइन्थ्यो ।’

लुगा धुने, नुहाउन, बस्नको समेत समस्या भएको तिलागुफा नगरपालिका–४ का १२ वर्षीय दिनेश बिकले बताए । ‘होस्टेलमा लगेर राखियो ।’–उनले भने–‘सबै जना एउटै ठाउँमा भुँइमा सुत्नु पर्ने अवस्था थियो ।’

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पीडित परिवारलाई प्रहरी समक्ष उजुरी दर्ता गर्न आग्रह गरेका छन् ।

अन्य

भिडियो