INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सिमकोट गाउँपालिका-२ की ३५ वर्षीया हिरकला परियारलाई सोही ठाउँका २८ वर्षीय बलिमान बोहराले जातीय विभेद गरेको भन्दै पीडित पक्षले असार ४ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएको छ ।

परियार असार १ गते बेलुका आफ्नै घर परिवारसँग बसिरहेको बेला आरोपितले मदिरा सेवन गरेर आई आफूलाई डुम जाति भन्ने शब्द प्रयोग गरी हातपात समेत गरेको पीडितले आरोप लगाएकी छन् ।

बोहराले पीडितका अपाङ्गता भएका ४५ वर्षीय पति मकविर परियारलाई समेत कुटपिट गरेको उजुरीमा उल्लेख छ ।

आरोपितले गत वैशाख महिनादेखि पटकपटक आफ्ना घरपरिवारमाथि अपशब्द बोल्दै हातपात गर्ने गरेको पीडित परियारको भनाई छ ।

सो घटनाका विषयमा असार २ गते वडा कार्यालयमा मौखिक उजुरी गर्दा पनि वडा कार्यालयले वास्ता नगरेपछि पीडितले असार ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), हुम्लामा न्याय दिलाउन पहल गरिदिन आग्रह गर्दै निवेदन समेत दिएकी थिइन् ।

पीडित पक्षको निवेदनपछि इन्सेकले सहयोग र समन्वय गरेपछि जेठ ४ गते नै पीडितले जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीपछि घटनाका बारेमा अनुसन्धान गरी पीडितलाई न्याय दिलाउने महिला तथा बालबालिका सेवा केन्द्रकी इञ्चार्ज विष्णुमाया गुरुङले जानकारी दिइन् ।

अन्य

भिडियो