बोगटान फुडशिल गाउँपालिकास्थित केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा गत वर्षदेखि डाक्टर नहुँदा स्थानीयहरूले सास्ती खेप्नु परेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरसहित १२ जना कर्मचारीको दरबन्दी रहेता पनि डाक्टरको दरबन्दी रिक्त रहेकोले स्थानीयहरूले सास्ती खेप्नु परेको हो ।
केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी रिक्त रहेको र कार्यालयमा रहेका कर्मचारीहरूसमेत नियमित रूपमा स्वास्थ्य चौकीमा नआउने गरेका कारण सामान्य उपचारका लागि पनि जिल्ला सदरमुकाम दिपायल सिलगढी धाउनु परेको स्थानीय पदमराज जोशीले गुनासो गरे ।
बोगटान गाउँपालिका–६ गगुडाका खडक चन्दले स्वास्थ्य चौकीमा डाक्टर नभएका कारण सामान्य उपचार गर्नसमेत कच्चीबाटोमा चर्को भाडा तिरेर गाडीबाट जिल्ला धाउनु परेको दुखेसो पोखे ।
भौगोलिक विकटताका कारण प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नै आउन नमानेपछि सर्वसाधारण जनतालाई समस्या भएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडशिलाले बताए ।
स्वास्थ्य चौकीमा डाक्टर दरबन्दी पुर्ति गर्नका लागि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गर्दै अएकोे भए पनि समस्या समाधान हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचिकारले बताए ।