INSEC Online

📅 २०८३ जेष्ठ २१

बिहे गर्ने उमेर नहुँदै गर्भपतन !

नेपालको संविधानमा विवाह गर्ने उमेर २० वर्ष तोके पनि सो उमेर अगावै जिल्लामा गर्भपतन गराउने बालिकाहरूको सङ्ख्या बढ्दै गएको छ ।

गर्भपतन गराउनेहरूमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले बताइन् । महिनामा ४० देखि ६० जनासम्म गर्भपतनको लागि आउने गरेको पाठकले बताइन् ।

उनले भनिन्–‘१३ वर्षदेखि २० वर्ष भित्रका अविवाहित किशोरीहरू समेत गर्भपतन गराउनको लागि आउने गरेका छन् ।’ पति वैदेशिक रोजगारीमा भएका महिलाहरू बढी आउने गरेको पाठकले बताइन् ।

गर्भपतन गराउन आउनेहरूमा बढी जनजातिहरू रहेको अनमी तीलकुमारी रानाले बताइन् । रानाका अनुसार जनजाति पछि ब्राम्हण क्षेत्री रहेका छन् ।

जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डाक्टर अमृत पोख्रेलले जिल्लामा असुरक्षित रूपमा गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको बताए ।

१२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी मान्यता रहे पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउने क्रम बढेको बताउँदै बाहिर असुरक्षित ठाउँमा गर्भपतन गराउने अनि समस्या भएपछि अन्तिम अवस्थामा आफूहरूकहाँ आउने गर्दा रगतलगायतका समस्या हुने गरेको बताए ।

गर्भपतनको लागि संस्था मात्रै सूचीकृत भएर नहुने र गर्भपतन गराउने डाक्टर वा स्वास्थ्यकर्मी पनि सूचीकृत हुनुपर्नेमा कानुनी मान्यता विपरित अवैधरूपमा काम भइरहेको पोख्रेलले बताए ।

परिवार नियोजनको अस्थायी साधनको प्रयोगकर्ताभन्दा गर्भपतन गराउन आउनेको सङ्ख्या बढी भएको बताउँदै विद्यालय र क्याम्पसहरूमा यससम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको पोख्रेलको भनाइ रहेको छ ।

सूचीकृत संस्था भन्दा अन्यले पैसाको प्रलोभनमा परेर महिलाको स्वाथ्यमाथि खेलवाड गरिरहेकोले यस सम्बन्धमा अनुगमन गरेर कार्वाही गर्न आवश्क रहेको सरोकारवालाको भनाई रहेको छ ।

जिल्लामा गर्भपतन गराउन पाउनेमा १९ सूचीकृत संस्था रहेका छन् भने यस आथिक वर्षमा ८ सय ८४ जनाले गर्भपतन गराएका छन् ।

जसमध्ये वालिङमा रहेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ३ सय २७ जनाले सेवा लिएको र जसमा ३६ जना २० वर्ष भन्दा मुनिका रहेको तथ्याङ्कमा उल्लेख छ ।

अन्य

भिडियो